पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका  नेता झलनाथ खनालले निर्वाचन नै पार्टीको लक्ष्य नहुने बताएका छन् । 

झापाको बिर्तामोडमा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको दशौँ जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता खनालले   निर्वाचन आउने कुराहरू कार्यनीति लक्ष्यहरू मात्रै भएको र आफ्नो पार्टीको लक्ष्य चुनाव मात्रै नरहेको बताएका हुन् । 

 तर उनले निर्वाचनमा बढीभन्दा बढी सिट आफ्नो दलका प्रतिनिधिहरूलाई जिताउन सके संसद्मा गएर भएपनि नौटङ्की सरकारको भण्डाफोर गर्न सकिने बताए ।

उनले २०७२ सालमा बनाइएको संविधानको धारा ३ मा एउटा महत्त्वपूर्ण कुरा राखिएको बताए र त्यो संविधान  पुँजीवादी संविधान भएको विश्लेषण गरे ।

उनले पुँजीवादलाई सम्पूर्ण कुरा आँखा चिम्लिएर समर्थन गर्न नसकिने बताउँदै आफूहरूले आलोचनात्मक रुपमा हेर्ने बताए । 

पूर्वप्रधानमन्त्री खनालले राष्ट्रलाई एकताबद्ध गर्न जरुरी रहेको उल्लेख गरे । उनले वैज्ञानिक समाजवादले मात्रै नेपालमा अहिलेका समस्या समाधान गर्ने दाबी गरे ।