झापा ।  लागूऔषध ब्राउन सुगरसहित प्रहरीले भद्रपुर र गोरीगञ्जबाट तीन जना युवकलाई पक्राउ गरेको छ ।  आज आइतबार साँझ ५ः१० बजे भद्रपुर ३ ज्ञानेचोकका आयुष तामाङ लागु औषध सहित पक्राउ परेका हुन् । 

स्थानीय आपगाँछीमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको गस्ती टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट भद्रपुरतर्फ आउँदै गरेका साइकलयात्री १७ वर्षीय तामाङलाई  पक्राउ गरेको हो । प्रहरीले प्लाष्टिकसहित ९ ग्राम ११० मिलिग्राम ब्राउनसुगर उनको साथबाट बरामद गरेको जनाएको छ । 

उनलाई नियन्त्रणमा लिई वडा प्रहरी कार्यालय भद्रपुरमा राखिएको र थप अनुसन्धान तथा कानुनी कारबाहीको  लागि जिल्ला प्रहरी कार्यालय चन्द्रगढी पठाउने तयारी भइरहेको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक लोककृष्ण दाहालले बताए । 

पछिल्लो समय प्रहरी निरीक्षक दाहालको सक्रियतामा केहि समय यता लागु औषध तथा चोरी पैठारीमा संमलग्न ब्यक्ति प्रकाउ पर्दै गइरहेका छन् ।  

यसैगरी, हिजो शनिबार साँझ १६ः२० बजे गौरीगञ्ज गाउँपालिका वडा नम्बर २ आपगाछी बजार स्थित भित्री सडक खण्डमा भारतबाट तुलाचन चौकतर्फ आउँदै गरेको प्र. १–०२–०४३ प ८२०९ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी कोरोबारी र बिओपी लालमाटीबाट खटिएको गस्ती टोलीले चेकजाच गरेको थियो । 

यस क्रममा मोटरसाइकल पछाडि सवार दमक ३ फनपार्क बस्ने १९ वर्षीय मिङसो लिम्बूको साथबाट प्लाष्टिकसहित ९ ग्राम ८५० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । 

मोटरसाइकल चालक कमल गाउपालिका ५ बस्ने २२ वर्षीय सुजन तोलाङ्गीलाई पनि नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय गौरीगञ्जमा ल्याई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।