त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयबाट भिजिट भिसाको आवरणमा मानव तस्करी गर्ने मात्रै होइन, तस्करीमा संलग्न ‘मोस्ट वान्टेड’लाई मिलेमतोमा तेस्रो मुलुक उडाउने काम पनि भएको छ । करिब दुई महिनाअघि ९४ किलो सुन तस्करी अभियोगमा भारतीय प्रहरीले खोजी गरिरहेका व्यक्तिलाई यसरी उडाइएको थियो । तर, ‘सिस्टममै डिफल्ट’ आएको वेला अपराधी उम्किन सफल भएको भन्दै सामसुम पारिएको थियो ।

भारतीय दूतावासको सिफारिसमा नेपालले पनि कालोसूचीमा समावेश गरेका ती सुन तस्करलाई अध्यागमन कार्यालयका तत्कालीन ड्युटी अफिसर कमलराज उपाध्यायसहितको टोलीले यात्रा अनुमति दिएको थियो । ‘९४ किलो सुन तस्करीमा संलग्न एक भारतीय नागरिकलाई हामीले पनि कालोसूचीमा राखेका थियौँ । तर, उनले हाम्रै अध्यागमन प्रणाली प्रयोग गरेर तेस्रो मुलुक यात्रा गरेका रहेछन् । त्यसवेला ड्युटी अफिसर उपाध्याय थिए,’ अध्यागमन स्रोतले भन्यो ।

_1736908732.jpg)
उपाध्याय भिजिट भिसा प्रकरणमा अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा रहेका अध्यागमनका तत्कालीन प्रमुख तीर्थराज भट्टराईको ‘कोर टिम’का सदस्य हुन् । गृहमन्त्री रमेश लेखकले करिब साढे सात महिनाअघि उनलाई रोजेरै अध्यागमनमा पठाएका थिए । स्रोतका अनुसार भट्टराईको ‘कोर टिम’मा त्यतिवेला अधिकृतहरू उपाध्यायसहित यज्ञराज अर्याल, दीपक पाण्डे, प्रभा अर्याल, भीष्मराज अर्याल र सरोज खनाललगायत थिए ।

यो घटनापछि भारतस्थित नेपाली दूतावासले कडा आपत्ति जनाएको थियो । त्यसपछि अध्यागमन विभागले भट्टराईसँग स्पष्टीकरण माग्नुका साथै तीन सदस्यीय छानबिन समिति पनि बनाएको थियो । ‘सिस्टमले काम नगर्दा कालोसूचीमा रहेको पासपोर्टलाई पनि हरियो बत्ती देखाउँदा मोस्ट वान्टेड छिर्न सफल भएको’ जवाफ दिएर भट्टराई त्यतिवेला उम्किएका थिए ।
छानबिन समितिले उपाध्यायसहित तीनजना अधिकृतलाई विभागमा ताने पनि उनीहरूको संलग्नता पुष्टि नरहेको प्रतिवेदन दिएपछि कारबाही फुकुवा गरिएको विभागका सूचना अधिकारी टीकाराम ढकालले बताए । अहिले त्यसमध्ये एकजना गृह मन्त्रालयमा छन् । उपाध्यायसहित दुईजना विभागमै कार्यरत छन् ।
‘सिस्टमकै डिफल्ट’ हुँदा ती व्यक्ति विदेश उड्न सफल भएको ढकालको दाबी छ । ‘सिस्टममा पासपोर्ट नम्बर प्रविष्ट गर्दा कालोसूचीमा परेका यात्रुहरू पहिचान हुने ‘नेपाली पोर्ट’ प्रणालीले काम नगरेको देखियो । सोही कारण उक्त व्यक्ति सहजै तेस्रो मुलुक जान सफल भएको देखियो,’ उनले भने, ‘सिसिटिभी फुटेज पनि हेरेर अनुसन्धान गरियो । तर, प्रणालीमा देखिएको ‘डिफल्ट’का कारण यात्रु छुटेका हुन् भन्ने निष्कर्ष छ ।’
गृह मन्त्रालयकै सेटिङमा भिजिट भिसामा विदेश पठाउँदै विमानस्थलमा दैनिक ५० लाखसम्म असुली हुने गरेको सूचनापछि अख्तियारले गत ७ जेठमा मात्रै कार्यालयमा छापा हानेको थियो । यस क्रममा कार्यालय प्रमुख भट्टराईसहित चारजनालाई नियन्त्रणमा लिई उनीहरूका कम्प्युटर, मोबाइललगायत ‘डिभाइस’ जफत गरेको छ । यो खबर नयांपत्रिका दैनिकको अनलाइन संस्करणबाट साभार गरिएको हो ।