झापा :  झापाका कृषकले सरकारले निर्धारण गरेको चैते धानको न्यूनतम् समर्थन मूल्य पाउन सकेका छैनन् । सरकारले गत फागुनमा आर्थिक वर्ष २०८१÷०८२ का लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल रू दुई हजार आठ सय ६९ पैसा तोकेको थियो । तर, झापाका कृषकले प्रतिक्विन्टल रू एक हजार सात ५० मा चैते धान बेचिरहेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिए । 

सरकारले १८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानका हकमा भने एक प्रतिशत चिस्यानका लागि प्रतिक्विन्टल एक हजार दुई सय ग्रामका दरले हुन आउने तौल घटाइ हुने तौलका आधारमा न्यूनतम समर्थन मूल्य कायम हुने गरेको थियो ।

मूल्य नपाएपछि कृषकहरुले सात सय रुपैयाँ प्रतिमन धान बेचिरहेको  बिष्टले बताए ।  चैते धान भण्डारण गर्न समस्या हुने भएकाले कृषक बेच्नै पर्ने बाध्यतामा छन् ।

गत वर्ष प्रतिमन रू एक हजारदेखि रू एक हजार दुई सयसम्म चैते धान बिक्री भएको थियो । सरकारले चैते धानको समर्थन मूल्य बढाए पनि कृषकले गत वर्षको भन्दा पनि निकै कम मूल्यमा धान बेच्न बाध्य छन् ।

एक बिघामा अधिकतम् ९० मन धान फले पनि हालको बजार मूल्यले कृषकको लगानी मात्र उठ्ने अवस्था छ । 

यस वर्ष झापामा २० हजार हेक्टरमा चैते धान खेती गरिएको छ । जसबाट करिब एक लाख मेट्रिकन टन धान उत्पादन हुने कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लामा कृषकले हर्दिनाथ–१ र राम धान जातका चैते धान खेती गरेका छन् । जसमध्ये ८० प्रतिशत हर्दिनाथ–१ रहेको कार्यालयले जनाएको छ ।

सरकारको तथ्यांक अनुसार नेपालमा वार्षिक ७० लाख टन धानको माग छ । त्यसमध्ये ५४ लाख टन हाराहारी मात्र नेपालमा उत्पादन हुन्छ । बाँकी आयात गर्नुपर्ने अवस्था छ ।