शनिश्चरे । 

झापाको अर्जुनधारा नगरपालिकामा सामुदायिक तथा संस्थागत विद्यालयका बिद्यार्थीसँग ‘मेयरसँग बिद्यार्थी कार्यक्रम’ अन्तरगत शैक्षिक विषयमा छलफल तथा अन्तरक्रिया भएको छ । 

अर्जुनधारा नगरपालिकाको सभाहलमा आज (मंगलबार) नगरका कक्षा–१० अर्थात शैक्षिक सत्र २०८२ को कक्षा १० (एसईई) मा अध्ययनरत विद्यार्थीहरुका लागि मेयरसँग विद्यार्थी कार्यक्रम भएको हो । 

आज (मंगलबार) र भोलि (बुधवार) दुई दिनसम्म हुने मेयरसँग बिद्यार्थी कार्यक्रममा शैक्षिक अभियन्ता याङजोम शेर्पाले कक्षा–१० (एसईई) मा अध्ययनरत विद्यार्थीहरुबिच  मोटिभेशन कक्षा समेत प्रदान गरेकी छिन् ।

उनले आफुले जीवनका शिक्षा प्राप्तका लागि गरेका दुःख र शिक्षा प्राप्तीसँगै मिलेको सम्मानका बारेमा बिद्यार्थीहरुलाई जानकारी गराएकी थिइन् । उनले एम्बीसन गुरु नामक एप्समार्फत अनलाइन कक्षा पढाइएका बिषयमासमेत बिद्यार्थीलाई जानकारी दिएकी थिइन् । 

डिजिटल प्रविधिसँगै बिद्यार्थीलाई जोडेर कक्षा–१० को नतिजा र शैक्षिक गुणस्तर सुधार गर्ने उदेश्यले मेयरसँग बिद्यार्थी कार्यक्रम आयोजना गरेको नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङले बताएका छन् । दुई दिनसम्म सञ्चालन हुने उक्त कार्यक्रममा नगरका आठ वटा सामुदायिक र १५ वटा संस्थागत बिद्यालयका बिद्यार्थीहरु गरी जम्मा २३ वटा बिद्यालयका बिद्यार्थीको सहभागीता रहने उनले जानकारी दिए । 

आज पहिलो दिन सिंहदेबी मावि, अर्जुनधारा नगरको सभाहल, महारानीगञ्ज मावि, लक्ष्मी माविमा कार्यक्रम हुने छ भने भोलि बुधवार जनता मावि, अर्जुनधारा मावि र भानु माविमा कार्यक्रम गरिनेछ । हाल कक्षा १० (एसईई) को पूरक परीक्षामा सामेल विद्यार्थी समेतलाई कार्यक्रममा सहभागिता गराउन सकिनेछ ।