बिर्तामोड । सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेडक्वाटर झापाले समुदाय विपद् स्वयंसेवक तयार पार्ने उद्धेश्यले समुदाय विपद् स्वयंसेवक तालिम सञ्चालन गरेको छ । तालिम १८ दिनसम्म सञ्चालन हुने छ ।
तालिम समुद्घाटन कार्यक्रममा गणपति सशस्त्र प्रहरी उपरीक्षक तुल बहादुर भण्डारीले स्वागत तथा तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए
उनका अनुसार खोज तथा उद्धारमा खटिने समुदायका स्वयंसेवकको क्षमता विकास गर्नुका साथै विपद् स्वयंसेवकहरुलाई स्तरीय आधारभुत तालिम प्रदान उक्त कार्यक्रम संचालन गरिएको हो ।

तालिममा प्रशिक्षार्थीहरुलाई विपद्को परिचय, नेपालमा हुने सम्भावित विपद्हरु, प्राथमिक उपचार, भत्केका संरचनाहरुमा गरिने खोज तथा उद्धार, जल उत्पन्न प्रकोप र त्यसमा गरिने उद्धार, डोरीद्धारा गरिने उद्धार, अग्नि नियन्त्रण, लगायत विविध विषयहरु समावेस गरी सैद्धान्तिक तथा व्यवहारिक दुबै पक्षमा ज्ञान प्रदान गरिने छ ।
उक्त तालिममा मेचीनगर नगरपालिकाका नगर प्रहरी १५ जना र मेचीनगर नगर पालिकाका सम्पूर्ण वडाबाट १÷१ जना गरी १५ जना स्वयंसेवक छनौट गरी कुल ३० जना प्रशिक्षार्थीहरु सहभागी रहने समेत जनाइएको छ ।

यसअघि ०८२ जेष्ठ ३० गतेबाट अषाढ १९ गतेसम्म कचनकवलमा १४ जनालाई तालिम प्रदान गरिएको थियो । अन्य पालिकाहरूमा समेत यस्तो तालिम आवश्यक रहेको उनको भनाई छ ।
नेपाल रेडक्रस सोसाईटी जिल्ला झापाका सभापति लोकराज ढकालले विपद व्यवस्थापनको पूर्व तयारी स्वरूप गरिने यस्ता तालिमहरुले विपद व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन महत्वपुर्ण भुमिका खेल्ने बताए ।
सशस्त्र प्रहरी बल, नेपाल नं. १ बराह बाहिनीका बाहिनिपति सशस्त्र प्रहरी नायव महानिरिक्षक कुमार न्यौपाने बिपद्जन्य घटनाहरुमा तत्काल प्रथम प्रतिकार्य, खोज तथा उद्धार गर्न समुदायको क्षमतालाई अभिवृद्धि गरी समुदायको सहभागिता सुनिश्चित गर्दै विपद्जन्य घटनाबाट हुन सक्ने क्षतिलाई न्यूनिकरण गर्ने उद्देश्यका साथ समुदाय बिपद् स्वंयमसेवक तयार गर्ने लक्ष्यले तालिम सञ्चालन गरिएको बताए ।
यस्तै, झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष शिवराम गेलाल प्राकृतिक तथा मानव सिर्जित विपद्को जोखिम उच्च रहेकोले त्यस्ता चुनौतीहरूलाई सामना गर्न समुदाय स्तरमै दक्ष जनशक्ति उत्पादन गर्नु महत्वपुर्ण उपलब्धी हुने धारणा व्यक्त गरे ।
कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले महत्वपूर्ण तालिम आफ्नो पालिकामा संचालन गर्न पाउदाँ हर्षित भएको प्रतिक्रिया दिए ।
तालिमबाट प्रशिक्षार्थीहरूलाई प्राप्त हुने सैद्धान्तिक तथा व्यवहारिक ज्ञानले आगामी दिनमा विपद् प्रकोप उद्धारमा महत्वपूर्ण सहयोग प्रदान गर्ने विश्वास ब्यक्त गरेका छन् ।
मेचीनगर नगरपालिकाको सभाहलमा प्रमुख अतिथि मेचीनगर नगरपालिकाका नगर प्रमुख गोपालचन्द्र बुढाथोकी, विशिष्ट अतिथि झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला
विपद् व्यवस्थापन समितिका अध्यक्ष शिवराम गेलाल, सशस्त्र प्रहरी बल,नेपाल नं. १ बराह बाहिनीका बाहिनिपति सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपानेले संयुक्त रूपमा तालिमको उद्घाटन गरेका थिए । कार्यक्रमकाे सन्चालन शसस्त्र प्रहरी निरिक्षक दिवस न्याैपानेले गरेका थिए ।








































