झापा – राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनअघि नै राजा, राजनीतिक दल, ‘जेनजी’ पुस्ता र सबै सरोकारवाला पक्षहरूबीच नयाँ राष्ट्रिय समझदारी हुनुपर्नेमा जोड दिएका छन् । 

देशको अस्तित्व जोगाउन अब टालटुले सुधारले मात्र नहुने भन्दै व्यवस्था परिवर्तनको विकल्प नरहेको समेत उनले बताए ।  शनिबार आज झापाको बिर्तामोडमा आयोजित राप्रपाको बृहत् जनजागरण सभालाई सम्बोधन गर्दै लिङ्देनले देशले हारेमा कसैको पनि भविष्य सुरक्षित नरहने भन्दै आम नागरिक र युवाहरूलाई जागृत हुन अपील गरे।

उनले कांग्रेस, एमाले र माओवादीलाई देश डुबाएको आरोप लगाउँदै ती दलका नेताहरूले आफ्नै घरभित्रको विद्रोहसमेत ठम्याउन नसकेको टिप्पणी गरे। भ्रष्टाचारलाई राप्रपाले मुख्य शत्रु मानेको उल्लेख गर्दै उनले संवैधानिक निकायमा दलीय भागबण्डाको अन्त्य नभएसम्म भ्रष्टाचारीमाथि कारबाही सम्भव नरहेको दाबी गरे।