झापा- प्रशासनले तोकेको समयसीमा मिचेर रातभर डान्स बार सञ्चालन गर्ने व्यवसायीमाथि झापा प्रहरीले निगरानी बढाएको छ। 

यसैक्रममा गएराति बिर्तामोडका विभिन्न डान्स बारहरूमा छापा मारी प्रहरीले दुईजना कर्मचारीलाई नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय बिर्तामोडबाट प्रहरी सहायक निरीक्षक रबिन खड्काको नेतृत्वमा खटिएको टोलीले राति १२:३० बजे बजार क्षेत्रका बारहरूमा अनुगमन गरेको थियो। 

सो क्रममा ‘डीडब्लु डान्स बार’ र ‘द नाइट लाइफ डान्स बार’ तोकिएको समयभन्दा ढिला सम्म सञ्चालन भइरहेको फेला परेको थियो।

प्रहरीले डीडब्लु डान्स बारका एकाउन्टेन्ट, मेचीनगर-२ का २३ वर्षीय संगित राजवंशी र द नाइट लाइफ डान्स बारका एकाउन्टेन्ट, सप्तरी गोलबजार-१ का २३ वर्षीय युगल चौधरीलाई नियन्त्रणमा लिएको छ। 

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान र कारबाहीका लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ।

बिर्तामोड क्षेत्रमा हाल करिब आधा दर्जन डान्स बारहरू सञ्चालनमा छन्। प्रहरी प्रशासनले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै निश्चित समयसम्म मात्र यस्ता व्यवसाय सञ्चालन गर्न अनुमति दिए पनि कतिपय बारहरूले रातभर सञ्चालन गर्ने गरेको पाइएको छ। 

स्थानीय प्रशासनले आगामी दिनमा पनि यस्ता उच्छृङ्खल गतिविधि र नियम उल्लंघन गर्ने व्यवसायमाथि कडा निगरानी राख्ने संकेत दिएको छ। प्रहरीकै संरक्षणमा यस्ता गतिबिधि हुँदै आएकाे आराेप लाग्दै आएकाे छ ।