उक्त पुलको आज भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेल र हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनले संयुक्त रूपमा उद्घाटन गर्नुभएको हो ।
आर्थिक वर्ष २०७६÷७७ को बजेट अन्तर्गत ९२ लाख रुपैयाँ लागत अनुमानमा टेन्डर प्रक्रिया अघि बढाइएको यो पुल उपभोक्ता समिति तथा सामान खरिद टेन्डरमार्फत करिब ७५ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो
“लालीगुराँस झोलुङ्गे पुल” नाम दिइएको उक्त पुल २०७९ साल कात्तिक १० गते निर्माण सम्पन्न भए पनि औपचारिक उद्घाटन भने आज मात्र गरिएको हो ।
पुल निर्माणका लागि संघीय सरकारसँग समन्वय गरी भद्रपुर नगरपालिका मार्फत बजेट विनियोजन तथा निर्माण प्रक्रिया अघि बढाउन हल्दिबारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन महेन्द्रले महत्वपूर्ण पहल गर्नुभएको थियो । पुल सञ्चालनमा आएपछि यस क्षेत्रका करिब ५०० घरपरिवार लाभान्वित हुने भएका छन् ।
बनेको लामो समयसम्म उद्घाटन हुन नसकेको अवस्थामा प्रमुख प्रशासकीय अधिकृत वनको विशेष पहलमा दुवै पालिकाका प्रमुख, जनप्रतिनिधि, स्थानीय सरोकारवालाको उपस्थितिमा पुल उद्घाटन गरिएको छ ।
हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनको अध्यक्षता तथा भद्रपुर नगरपालिका प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा दुवै प्रमुखले पुलको आवश्यकता, स्थानीयबासीले भोग्दै आएको समस्या र पुल निर्माणपछि प्राप्त हुने फाइदाका विषयमा धारणा राख्नुभएको थियो ।
कार्यक्रममा भद्रपुर नगरपालिका उपप्रमुख राधा कार्की, हल्दिबारी गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, भद्रपुर वडा नं. ७ का वडाध्यक्ष अभिषेक ढुङ्गाना,
हल्दिबारी वडा नं. ३ का वडाध्यक्ष विष्णुप्रसाद ओली, हल्दिबारी वडा नं. १ का वडाध्यक्ष देवीबहादुर थापा, वडा नं. ४ का वडाध्यक्ष सन्तकुमार थापा मगर लगायत जनप्रतिनिधि, कर्मचारी, स्थानीयबासीको उपस्थिति रहेको थियो ।
पुल निर्माणमा महत्वपूर्ण भूमिका खेलेको पुल निर्माण उपभोक्ता समितिका सदस्यहरूलाई कदरपत्र प्रदान गरी सम्मान गरिएको छ ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन महेन्द्रले पुल निर्माणको औचित्यबारे मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण गाउँपालिका योजना शाखा प्रमुख राजन न्यौपानेले गर्नुभएको थियो ।







































