बिर्तामोड । 

 ‘एकका लागि एक अभियान’ले विपदको समयमा सहयोग गर्ने दाताहरुलाई आज बिर्तामोडमा एक समाराेहकाबिच सम्मान गरेको छ । 

अभियानलाई सहयाेग गर्ने जिल्लामा क्रियाशील विभिन्न संघ–संस्था तथा सामाजिक कार्यमा महत्वपूर्ण योगदान पुर्याउने ४० बढीलाई एकैसाथ सम्मान गरेको हो ।

कोरोना संक्रमणको समयमा एक परिवारले अर्को एक परिवारलाई सहयोग गर्ने अवधारणासहित सामाजिक अभियान्ता महेन्द्रकुमार गिरीको परिकल्पनामा शुरु भएको एकका लागि एक अभियानले आय–व्यय सार्वजनिक गर्दै तत्कालिन झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीसहित विभिन्न व्यक्तित्वलाई सम्मान गरेकाे हाे ।

। हाल काभ्रेपलान्चोकका प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत अधिकारीलाई झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, अभियानका संयोजक महेन्द्रकुमार गिरीलगायतले संयुक्त रूपमा सम्मानपत्र प्रदान गरेका थिए ।

गत साउन १८ र १९ गते अविरल वर्षापछि झापा र इलाममा आएको बाढी र पहिरोले ठूलो जनधनको क्षति पुर्याएको थियो । उक्त विपद्का बेला ‘एकका लागि एक अभियान’ को माध्यमबाट राहत तथा उद्धारमा उल्लेख्य योगदान पुर्याउने संघ–संस्था र दाताहरूलाई कदरपत्रद्वारा सम्मान गरिएको हो । बाढी–पहिरोका कारण पाँच हजार पाँच सयभन्दा बढी परिवारका २५ हजारभन्दा बढी नागरिक विस्थापित भएका थिए ।

उक्त संकटका बेला जिल्ला विपद् व्यवस्थापन समिति संयोजक तथा तत्कालिन प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको आग्रहमा अभियान सक्रिय भई प्रभावित क्षेत्रमा उद्धार र राहत कार्यमा जुटेको थियो ।

अभियानको अगुवाइ र समन्वयमा करिब दुई हजार परिवारलाई प्रति परिवार तीन हजारदेखि तीन हजार पाँच सय रुपैयाँ बराबरको खाद्य तथा गैर–खाद्य सामग्रीको प्याकेट तयार गरी वितरण गरिएको थियो । यसअन्तर्गत इलामका एक सय पचास परिवारलाई प्रत्यक्ष राहत प्रदान गरिएको संयोजक गिरीले जानकारी दिए ।


त्यसैगरी विभिन्न दाताको सहयोगमा सात सय परिवारका लागि सरसफाइ सामग्रीसहित पाँच सय प्याकेट हाइजिन किट, तीन सय थान सेन्टर किट तथा दुई सय थान ब्ल्याङ्केट वितरण गरिएको थियो ।

प्रभावितलाई एकद्वार प्रणालीबाट समान प्रकृतिका सामग्री उपलब्ध गराउन अभियानले जिल्ला विपद् व्यवस्थापन समितिसँग समन्वय गर्दै सहयोग गरेको जनाइएको छ ।

अभियानले सामग्री संकलन, प्याकिङ र व्यवस्थापन गरी जिल्ला विपद् व्यवस्थापन समितिलाई हस्तान्तरण गर्ने र समितिले स्थानीय सरकारसँगको समन्वयमा राहत वितरणलाई व्यवस्थित बनाएको थियो ।