बिर्तामोड-झापाको बिर्तामोडस्थित भगवान चोक दक्षिणमा रहेको प्रतिष्ठित शैक्षिक संस्था युरो किड्स प्री स्कूलले बालबालिकाको सिर्जनात्मक क्षमता उजागर गर्न ‘युरो मास्टर सेफ कम्पिटिसन’ आयोजना गर्ने भएको छ ।

पुस २५ गते विद्यालय परिसरमा सञ्चालन हुने प्रतियोगितामा ‘फायरलेस कुकिङ’ (आगोको प्रयोग नगरी खाना पकाउने) अभ्यास गराइने प्री स्कूलले जनाएको हो । नानीबाबुलाई भान्छा र खानपानको कलासँग जोड्न आयोजना गरिएको प्रतिस्पर्धामा आमाका साथमा नानीबाबुहरू सहभागी हुनेछन् ।

IMG-20260106-WA0019

युरो किड्सका बाहेक समुदायबाट समेत नानीबाबुहरू आफ्नो आमाका साथमा कम्पिटिसनमा सहभागी हुन सक्ने व्यवस्था मिलाइएको छ । समुदायका अन्य इच्छुक नानीबाबु आमाकाे साथमा फायरलेस कुकिङ कम्पिटिसनमा सहभागी हुन पाउने प्री स्कूलकी प्रिन्सिपल सुनिता केसीले बताइन् ।

 'फायरलेस कुकिङ बालबालिकाका लागि पूर्णतः सुरक्षित, रमाइलो र सिकाइमुखी अभ्यास हो',  प्रिन्सिपल केसीले भनिन्, ‘यो अभ्यासले बालबालिकामा आत्मनिर्भरता र आत्मविश्वास मात्र जगाउँदैन, उनीहरूलाई रङ, स्वाद र स्वस्थ खानपानको महत्वबारे समेत जानकारी दिन्छ ।’

प्रतियोगितामा सहभागी नानीबाबुले आफ्ना आमासँग मिलेर आगोको प्रयोग नगरी विभिन्न परिकार बनाउन सक्नेछन् । आफूमा भएको ज्ञान तथा क्षमतालाई बालबालिकाले पूर्णरूपमा प्रयोग गर्न सक्ने, नयाँ र उपयोगी सिकाई प्राप्त गर्ने अपेक्षासहित फायरलेस कुकिङ प्रतिस्पर्धा गराउन लागिएको प्रिन्सिपल केसीले बताइन् ।

सामान्यतया नानीबाबुहरूले फायरलेस कुकिङ अभ्यासमा लड्डु, चटपटे, पानीपुरी, स्यान्डविच, बर्गर र फ्रुट सलाद जस्ता परिकार बनाउने गर्छन् । नानी बाबुले उमेरअनुसार केराको बोक्रा ताछ्ने, फलफूलको सलाद बनाउने, ब्रेडमा जाम-बटर लगाउने, दही र चिनी मिसाउने लगायतका सरल र उपयोगी अभ्यास पनि गर्दै आएका छन् ।

नयाँ र फरक खालको परिकार बनाउन प्रेरित र प्रोत्साहित गर्ने उद्देश्यले विद्यालयभित्र र बाहिरका समेत नानीबाबुहरू र उनीहरूका आमाका साथमा प्रतिस्पर्धा आयोजना गरिएको विद्यालयकी कोर्डिनेटर प्रियंका झावरले बताइन् ।

निर्णायकमा चर्चित फुड ब्लगर

कार्यक्रमलाई थप स्तरीय र रोचक बनाउन चर्चित फुड ब्लगर श्वेता बुढाथोकी निर्णायकका रूपमा रहने प्री स्कूलले जनाएको छ । ‘उत्कृष्ट परिकार बनाउने नानीबाबु र उनीहरूका आमालाई प्रमाणपत्रका साथै आकर्षक उपहार प्रदान गरिनेछ’, कोर्डिनेटर झावरले भनिन् ।

बहुआयामिक सीपको विकास

प्री स्कूलका अनुसार फायरलेस कुकिङले बालबालिकाको हात र आँखाको समन्वय र सरसफाइप्रतिको सचेतना बढाउँछ । सामूहिक रूपमा काम गर्दा बालबालिकामा पालो कुर्ने, मिलजुल गर्ने र नेतृत्व लिने जस्ता सामाजिक तथा भाषिक सीपको समेत विकास हुने विश्वास युरो किड्सले लिएको छ ।

प्रिन्सिपल केसीले युरो किड्समा अध्ययनरत बाहेक बाहिरका बालबालिका र अभिभावकलाई पनि यो कम्पिटिसनमा सहभागी हुन अपिल गरेकी छन् । युरो किड्समा हाल ४३ जना नानीबाबु अध्ययन गरिरहेका छन् ।

मनोरञ्जन र शिक्षाको उत्कृष्ट संगम हुने ‘युरो मास्टर सेफ’ ले बालबालिकालाई सिर्जनशील बन्न र स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने अपेक्षा गरिएको छ ।