विराटनगर । जेनजी आन्दोलनले निजी क्षेत्रमा अकल्पनीय क्षति ब्यहोरोको छ । अर्थमन्त्री रामेश्वर खनालको शब्दलाई सापट लिने हो भने ‘निजी क्षेत्र खरानी टकटक्याएर माथि उठ्दा मुलुकको आर्थिक गतविधि चलायमान मात्र भएको छैन । मुलुकको राजस्व संकलन र लगानी पनि बढ्दै छ ।’
खनालले पुस ९ गते मोरङ उद्योग व्यापार संघले आयोजना गरेको विराट एक्स्पोको उद्घाटन गर्दै नेपालको निजी क्षेत्र खरानी र घुँडा टकटक्याउँदै आत्मविश्वासका साथ माथि उठेर विश्वलाई चकित पारेको प्रतिक्रिया दिएका थिए ।
खनालको भनाइलाई ठ्याक्कै कोशी प्रदेशमा पाँचतारे होटलले पुष्टी गरेका छन् । यसको पछिल्लो उदाहरण हो, करिब दुई अर्बको लगानीमा सुनसरीको इटहरी(९ मा अन्तर्राष्ट्रियस्तरको होटल ‘रमडा बाइ विन्डम इटहरी’ । यो होटल सञ्चालनको अन्तिम तयारीमा पुगेको छ ।
विश्वको सबैभन्दा ठूलो होटल फ्रेन्चाइज समूह मध्येको अमेरिकी चेन होटल ब्रान्ड विन्डम होटल्स एन्ड रिसोर्टस् अन्तर्गतको लोकप्रिय मिड–स्केल ब्रान्ड ‘रमडा’ कोशी प्रदेशमा भित्रिएको छ । यसलाई पहिलोपटक पूर्वी नेपालमा भित्र्याउने काम होटल व्यवसायी देशबन्धु बस्नेत ९अजित० ले गरेका हुन । उनको यो होटल सञ्चालनमा ल्याउने तयारी गरेका छन् । यो सँगै कोशी प्रदेशमा सञ्चालनमा आएका पाँचतारे होटलको सख्या ४ पुगेको छ ।
यसअघि झापाको बिर्तामोडमा किङ्सबेरी, काँकरभिट्टामा मेची क्राउन र सुनसरीको इटहरीमा सोल्टी क्राउन पाँचतारे होटल सञ्चालनमा छन ।
कोशी प्रदेश होटल व्यवसायी संघका अध्यक्ष राजन श्रेष्ठका अनुसार यो प्रदेशमा थप ७ वटा पाँचतारे होटल पाइप लाइनमा छन् । सन् १९८१ मा स्थापना भएको अमेरिकाको मूल अन्तर्राष्ट्रिय होटल कम्पनी विन्डम होटल्स एन्ड रिसोर्टस् होटलको मुख्यालय अमेरीकाको न्यु जर्सीमा छ । यसका ब्रान्ड विश्वका ९५ देशमा ९ हजार भन्दा बढी सञ्चालित छन् ।
नेपालको हकमा यो पहिलो हो । होटलको सम्पूर्ण निर्माण कार्य सकिएको छ । बस्नेतले यो होटल जनवरीको अन्तिमदेखि सञ्चालनमा आउने निश्चित भएको जानकारी दिए । होटलमा ८१ वटा कोठा छन् । त्यसमध्ये डिलक्स सिंगल ५७, डिलक्स डबल १४, एक्जिक्युटिभ २, जुनियर सुइट ६ र सुइट २ वटा कोठा रहेको होटल व्यवस्थापनले जनाएको छ ।
होटलमा टेरेस बार, अल–डे डाइनिङ रेस्टुरेन्ट, कफी सप, दुई वटा ब्यांक्वेट हल, मिटिङ रुम, आउटडोर लाउन्ज, पुल बार, स्वीमिङ पुल, जिम तथा स्टिम–साउनासमेत रहेको होटल व्यवस्थापनले उल्लेख गरेको छ ।
व्यावसायिक बैठकदेखि विवाह तथा सामाजिक कार्यक्रमसम्मका लागि उपयुक्त हुने होटलले ८० जनाभन्दा बढी स्थानीयलाई प्रत्यक्ष रोजगारी प्रदान गर्ने जनाइएको छ । नेपाल उद्योग वाणिज्य महासंघको पर्यटन तथा हवाई यातायात समितिका सभापति समेत रहेका बस्नेतका अनुसार नेपालको पर्यटन सम्भावनालाई थप उजागर गर्ने उद्देश्यले पूर्वी नेपालमै पहिलोपटक अमेरिकी चेन होटल ब्रान्ड भित्र्याइएको हो ।
भारतको बिहार र पश्चिम बंगालसँगको निकटताले होटललाई नेपाली तथा भारतीय अतिथिहरूको विवाह समारोह, सामूहिक घुमफिर र सम्मेलनका लागि आकर्षक गन्तव्य बनाउने लक्ष्य होटलको छ ।
भारतसहित भूटान, बंगलादेशलगायत देशका पर्यटक तथा व्यवसायीहरूको प्रमुख गन्तव्य बन्ने विश्वास होटल व्यवस्थापनले लिएको छ । होटल व्यवसायीले होटलले पूर्वी नेपाललाई विश्व बजारसँग जोड्न महत्त्वपूर्ण भूमिका खेल्ने दाबी गरेको छ ।
‘रमडा’ सञ्चालनमा आएपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने विश्वास व्यक्त गर्दै बस्नेतले जोगबनी र किमाथांका नाकालाई ट्रान्जिटका रूपमा प्रयोग गरी इटहरीलाई पर्यटन हबका रूपमा विकास गर्ने लक्ष्य लिइएको बताए । यसबाट भेडेटार, श्रीअन्तु, कोशी टप्पु र इलामजस्ता पर्यटकीय गन्तव्यमा पर्यटकको संख्या बढ्ने अपेक्षा गरिएको छ । साथै रामधुनी, बराहक्षेत्र, पिण्डेश्वरी र चतराधामजस्ता पूर्वी नेपालका महत्त्वपूर्ण धार्मिक स्थलको अन्तर्राष्ट्रिय प्रचार–प्रसारमा समेत होटलले टेवा पुर्याउने विश्वास बस्नेतले व्यक्त गरेका छन् ।
करिब एक दशकदेखि पर्यटन क्षेत्रमा सक्रिय बस्नेत पेशाले इन्जिनियर हुन् । उनी गणतन्त्र जाम्बियाका मानार्थ वाणिज्य दूतसमेत हुन् ।
उनको द मेट्रोपोलिटन होटल अन्तर्गत काठमाडौंको धुम्बाराहीमा पाँचतारे मर्क्योर होटल सञ्चालनमा छ । एक्कोर इन्डिया एन्ड साउथ एसियासँग भएको सम्झौताअनुसार एक्कोर समूहले दि मेट्रोपोलिटन होटल प्रालिमार्फत काठमाडौंमा १०२ कोठाको सुविधासम्पन्न होटल ‘मर्क्योर काठमाडौं’ सञ्चालन गरेको हो ।
उनको नेतृत्वमा यो पाँचतारे होटल ब्रान्ड ‘मर्क्योर बाइ एक्योर’ धुम्बाराहीमा सन् २०२५ जनवरी १५ देखि सञ्चालनमा आएको थियो ।
होटल सञ्चालन लगत्तै बस्नेतले इटहरीमै एकैपटक तीन हजारभन्दा बढीलाई सेवा दिन सक्ने सम्मेलन तथा ब्यांक्वेट हल, नेपालकै ठूलो स्वीमिङ पूल, अत्याधुनिक स्वास्थ्य तथा स्पा केन्द्र, रिक्रिएसन सेन्टर र २० वटा आधुनिक कोठा सहितको ठूलो लगानीको अर्को महत्त्वाकांक्षी योजना पनि निर्माण गर्ने तयारी गरेको क्लिकमान्डुलाई जानकारी दिए ।
हाल कोशी प्रदेशमा झापा विर्तामोडमा किङ्सबेरी, काँकरभिट्टामा मेची क्राउन र सुनसरीको इटहरीमा सोल्टी क्राउन पाँचतारे होटल सञ्चालनमा छन । प्रदेश होटल व्यवसायी संघका अध्यक्ष राजन श्रेष्ठका अनुसार यो प्रदेशमा थप ७ वटा पाँचतारे होटल पाइपलाइनमा छन । त्यस मध्ये झापामा मेडिकल व्यवसायी दुर्गा प्रसाईंको एजीएम, विराटनगरमा पाँच र धनकुटाको भेडेटारमा एक पाँच तारे होटल निर्माण हुने र निर्माणधीन अवस्थामा छन् । उनका अनुसार विराटनगरमा उद्योगी मोती दुगडको सेन्चुरीयन होटल भाटभाटेनी समूहले किनेर निर्माण गरिरहेको छ ।
विकास चौधरी समूहले लेमन्ट्री पाँचतारे होटल निर्माण भएर सञ्चालनको अवास्थामा छ । त्यसैगरी प्रकाश गौतमको किङ्सबेरी, विजयकुमार चौधरीको एक्सिस र उद्योगी तथा नेपाल उद्योग वाणिज्य महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउत अध्यक्ष रहेको शिवम् समूहको पाँचतारे होटल निर्माण हुने क्रममा छन ।
विराटनगरको होटल एशियाटिकका सञ्चालक पर्यटन व्यवसायी पुण्य भट्टराइले धनकुटाको भेडेटारमा पाँचतारे होटल निर्माण गर्ने सम्झौता हालै सम्पन्न कोशी प्रदेश सरकारको पहिलो लगानी सम्मेलनमा गरेका थिए । झापाको बिर्तामोडमा प्रकाश गौतमको स्वामित्वमा रहेको किङ्सबेरी होटल क्यासिनो व्यवसायी रवि धिताललाई करिब २ अर्बमा बिक्री गरेर गौतमले विराटनगरमा अर्को किङ्सबेरी होटल निर्माण सुरु गरेका छन् ।
गौतमले विर्तामोडको किङ्सबेरी होटल बिक्री गरेर विराटनगर बसपार्क नजिक किङ्सबेरी नामकै पाँच तारे होटल निर्माण सुरु गरेका हुन् । त्यसका लागि गौतमले होटल रत्नासँग जोडिएको व्यवसायी दिपक मल्होत्राको ४१ कठ्ठा र साझेदारको नाममा रहेको ७ कठ्ठा गरी कुल ४८ कठ्जा जमिन गत पुसमा १ अर्ब २५ करोडमा खरिद गरेका थिए ।
मल्होत्राले आफनो मात्र स्वामित्वमा रहेको ४१ कठ्ठा जमिन गौतमलाई १ अर्ब ७ करोडमा बिक्री गरेका थिए । गौतमले गत वर्षको शिवरात्रीका दिन होटलको शिलान्यास गरेर निर्माण सुरु गरेका हुन् । करिब ४ अर्बको लागतमा २ बिघा ८ कठ्ठा क्षेत्रफलमा निर्माण सुरु गरिएको विराटनगरको पाँचतारे किङ्सबेरी होटल दुईदेखि अढाई वर्ष भित्रमा सञ्चालनमा ल्याउने तयारी भएको म्यानेजर रुपेश गणेशले जानकारी दिए ।
कोशी प्रदेशको राजधानी समेत रहेको विराटनगरमा अहिलेसम्म पाँचतारे होटल सञ्चालनमा आएको छैन । विराटनगरमा भाटभाटेनी समूहको सेन्चुरी र चौधरी समूहको लेमन्ट्री, र एक्सिस, गौतमको किङ्सबेरी र शिवम समूहको पाँच तारे होटल सञ्चालनको पाइप लाइनमा छन् । clickmandu.com










































