झापा, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) झापाले आफ्नो ३५ औँ स्थापना दिवस विविध कार्यक्रमका साथ भव्य मनाएको छ ।
स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा शिक्षाक्षेत्रमा योगदान पुर्याएका शिक्षासेवी, दीर्घकालीन रूपमा सेवा गरेका शिक्षक, शैक्षिक उपलब्धि हासिल गरेका विद्यार्थी तथा पत्रकारलाई सम्मान गरिएको छ ।
बिर्तामोडमा आयोजित जिल्ला स्तरीय समारोहमा प्रतिस्पर्धात्मक सांस्कृतिक कार्यक्रम, गायन तथा नृत्य प्रतियोगिता सञ्चालन गरिनुका साथै सम्मान कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा संस्थागत विद्यालयहरूले जिल्लाको शैक्षिक विकासमा पु¥याएको योगदानको समीक्षा र भावी दिशाबारे पनि चर्चा गरिएको थियो ।
संस्थापक प्रिन्सिपल सम्मानतर्फ योगदान र विशिष्टताको आधारमा विराटज्योति अंग्रेजी माध्यमिक विद्यालय, बिर्तामोडका गणेशप्रसाद ओली, देवकुल अंग्रेजी माध्यमिक विद्यालय, बिर्तामोडका धरणीरस मैनाली र प्रभुकुमार श्रेष्ठ तथा रूपरत्न अंग्रेजी माध्यमिक विद्यालय, अर्जुनधारालाई सम्मान गरिएको छ ।
त्यस्तै, मरणोपरान्त संस्थापक सम्मानअन्तर्गत टावर टेम्पल अंग्रेजी विद्यालय, बिर्तामोडका संस्थापक प्रिन्सिपल स्वर्गीय नरेशमान धिमाललाई श्रद्धासहित सम्मान प्रदान गरिएको थियो ।
अविछिन्न कार्यरत शिक्षक सम्मानतर्फ हरिकुल नमूना माध्यमिक विद्यालय, कनकाईका शिक्षक मुक्ति दाहाल पुरस्कृत भए । उत्कृष्ट पालिका सम्मानतर्फ प्याब्सन अर्जुनधारालाई सम्मान प्रदान गरिएको छ ।
पत्रकारिता क्षेत्रबाट पूर्वाञ्चल दैनिकका सह सम्पादक सुरेन्द्र भण्डारी तथा नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपाने सम्मानित भएका छन् ।
यसैगरी, माध्यमिक शिक्षा परीक्षा ९एसईई० २०८१ मा ४।०० जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई नगदसहित प्रशंसा–पत्र प्रदान गरी सम्मान गरिएको थियो ।
सम्मानित विद्यार्थीहरूमा प्रज्ञा एकाडेमी, भद्रपुरकी मिनकुमारी दास, नेशनल मेरीगोल्ड स्कूल, भद्रपुरका प्रनिल सत्याल, बाल्मीकि एजुकेशन फाउण्डेशन, बिर्तामोडका हृदयप्रसाद शिवाकोटी र अंकित कटुवाल रहेका छन् ।

त्यस्तै माउन्ट एभरेष्ट विद्यालय, गौरादहका अर्पण रोय र जेनिस कोइराला, इमिनेन्ट कञ्चनजंघा स्कूल, गौरादहका कुशल लिम्बू, हेमन्त राजवंशी र मुना पाण्डे, नमूना अंग्रेजी विद्यालय, गौरादहकी सुमेधा कोइराला र अलिसा सापकोटा सम्मानित भए ।
पारिजात अंग्रेजी माध्यमिक विद्यालयकी नम्सा लिम्बू थलाङ, ज्ञानकुञ्ज एकाडेमीका सागर राउत तथा ज्ञानोदय आवासीय माध्यमिक विद्यालय, गौरीगञ्जकी सलिना कार्कीलाई पनि उत्कृष्ट शैक्षिक उपलब्धिका लागि सम्मान गरिएको थियो ।
कार्यक्रममा प्याब्सनका वरिष्ठ सल्लाहकार टिकाराम पुरी प्रमुख अतिथि रहनु भएको थियो ।
प्याब्सन झापाका अध्यक्ष छत्रबहादुर कार्की सहित प्रमुख अतिथि पुरीले सम्मानित व्यक्तिहरूलाई सम्मान–पत्र प्रदान गर्नुभयो ।
प्याब्सन झापाका वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक हरिकृष्ण पाठकले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई झापाका प्रमुख कुमार बस्नेत, बिर्तामोड नगरपालिका शिक्षा शाखा प्रमुख तीलचन भण्डारीलगायत शिक्षासेवीहरूले शुभकामना मन्तव्य राख्नुभयो । उहाँहरूले संस्थागत विद्यालयहरूले शिक्षाको गुणस्तर अभिवृद्धिमा खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।
प्याब्सन झापाका सचिव लक्ष्मीप्रसाद उप्रेतीले सञ्चालन गर्नुभएको कार्यक्रममा जिल्लास्तरीय सामूहिक सांस्कृतिक नृत्य, एकल शास्त्रीय नृत्य, विभिन्न वर्गका गायन प्रतियोगिता समावेश गरिएको थियो ।
कक्षा ११ र १२ का विद्यार्थीहरूको विशेष गायन प्रस्तुति तथा १२ वर्षमुनि र १२ वर्षमाथिका प्रतियोगीहरूको प्रस्तुतीले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो ।









































