बिर्तामोड

झापाको बिर्तामोडस्थित सहारा नेपालको २९ औं वार्षिक साधारण सभा आज विविध कार्यक्रमकाबिच सम्पन्न भएको छ । संस्थाको सभाहलमा आज एक समारोहकाबिच संस्थाका अध्यक्ष भरतकुमार गिरीको अध्यक्षता एवम् अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेवसिंह गोम्देनको प्रमुख आतिथ्यमा साधारणसभा गरिएको हो । 

सहाराले नेपालको बिभिन्न ४३ जिल्लामा सेवा पुर्याउँदै आएको अध्यक्ष भरत गिरीले प्रतिबेदन प्रस्तुतको क्रममा उल्लेख गरे । सहाराको सेवाबाट  चार लाख ९२ हजार जनसंख्या लाभान्वित भएको समेत उनले बताए । 

WhatsApp Image 2026-01-09 at 17.52.52

अध्यक्ष गिरीद्वारा प्रस्तुत प्रतिवेदन अनुसार संस्थाको कार्यालय आठ वटा, सहकारी तथा सिविओ ३८ वटा, महिला तथा आदिवासी समूह १११ वटा, बाँसमा आधारिक उद्योग एउटा, जल उपभोक्ता संस्था अर्थात जल तथा आवास एक सय ८ वटा र सञ्जालमा आवद्धता ५ वटाबाट सेवा प्रदान गर्दै आएको छ ।

WhatsApp Image 2026-01-09 at 17.52.51 (2)

संस्थाले बाढी पिडीतका लागि राहत वितरण, खानेपानी तथा सरसफाई आयोजना निर्माण, सामुदायिक झोलेङ्गे पुल कार्यक्रम, सुरक्षित आवास निर्माण कार्यक्रम अन्तरगत झापा र मोरङमा १७५ घर निर्माण सम्पन्न, ११ जिल्लामा २ लाख ४५ हजार ३२५ वटा फलफूलको विरुवा वितरण, वाढी प्रभावित क्षेत्रमा बाँसको विरुवा रोपण, किसानहरुलाई असल कृषि अभ्यास तालिम तथा टनेल सहयोग, उदयपुरका अगुवा कृषकलाई कृषि सामाग्री वितरण, बालबालिकाहरुमा पोषण परिक्षण कार्याक्रम सञ्चालनलगायतका थुप्रै कार्यक्रमहरु गर्दै आएको संस्थाका सचिव महेन्द्रकुमार गिरीले जानकारी दिए । उनले स्थानीयतह , प्रदेश सरकार सहित सरोकार राख्ने बिभिन्न संघ संस्थासंग सहकार्य गर्दै काम गर्ने समेत आगामी कार्ययोजनाका क्रममा बताए । 

WhatsApp Image 2026-01-09 at 17.52.51

कार्यक्रमका प्रमुख अतिथि अर्जुनधारा नगरपालिका नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङले सहारा नेपाल साच्चै सबैको सहारा भएको बताए । उनले सहाराले धेरै बिपन्न नागरिकको जिवनस्तर उकास्न ठुलो सहयोग पुर्याएको उल्लेख गरे । उनले अर्जुनधारा नगरले पनि बिभिन्न योजनाहरुमा सहकार्य र समन्वय गर्दै आगामी दिनमा काम गर्ने बताए ।  कार्यक्रममा सहारा नेपाल साकोसका अध्यक्ष हरिबहादुर राजवंशीले पनि शुभकामना मन्तव्य राखेका थिए ।  कार्यक्रममा संस्थाको उत्कृष्ट कर्मचारीका रुपमा सुरक्षित आवास परियोजनाका संयोजक भीमप्रसाद भेटवाललाई नगदसहित सम्मान गरेको थियो ।

त्यस्तै, श्री दुर्गा मावि गरामनीलाई तीन थान स्मार्ट टेलिभिजन र दुर्गेश्वरी कृषि सहकारीलाई एक थान कम्प्युटरसमेत सहयोग गरिएको थियो ।  संस्थाका उपाध्यक्ष सोमनाथ तिम्सिनाले स्वागत गरेको कार्यक्रमको सञ्चालन संस्थाका कार्यक्रम व्यवस्थापक मात्रिका सुवेदीले गरेका थिए । कार्यक्रममा सहारा स्कुलका साना विद्यार्थीले बिभिन्न संस्कृति झल्कने नृत्य समेत प्रस्तुत गरेका थिए ।