बिर्तामोड । झापाको बिर्तामोडमा सुविधासम्पन्न नागरिक अस्पताल सञ्चालनमा सञ्चालनमा आउने भएको छ । हाल निमाणधिन अवस्थामा रहेको अस्पताल आगामी बैशाखबाट सञ्चालनमा ल्याउन लागिएको अस्पताल प्रशासनले जनाएको छ । बिर्तामोड ४ स्थित हर्कलाल मार्गमा रहेको नागरिक अस्पतालको निमार्ण कार्य अन्तिम चरणमा पुगेको अस्पतालका कार्यकारी प्रमुख कृष्ण पौडेलले जानकारी दिए ।
नागरिक स्वास्थ्य सहकारी संस्थाको मातहतमा सञ्चालन हुने नागरिक अस्पताल बिपन्न तथा निम्न आय भएका नागरिकलाई लक्षित गरेको सञ्चालनमा ल्याउन लागिएको पौडेलको भनाई छ । आज अस्पतालको सभाहलमा संस्थाको ५ औं बार्षिकोत्सबको अवसरका आयोजित साधारणसभाका अवसरमा अस्पताल सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको अस्पतालका अध्यक्ष युवराज दाहालले जानकारी दिए ।

संस्थाका अध्यक्ष दाहालको अध्यक्षतामा भएको कार्यक्रममा मोरङ सहकारी अस्पतालका कार्यकारी प्रमुख विकास अधिकारीको प्रमुख आतिथ्य रहेको थियो ।
एक शेयर बापत १ लाख २५ हजार रुपैंया तोकिएको छ । हाल सम्म करीब यस अस्पतालमा ३०० भन्दा बढी शेयर सदस्य बनेका छन् । अस्पताल सञ्चालनको लागि ११ कठ्ठा जमिन २५ बर्षको लागि भाडामा लिइएको अस्पताल प्रशासनले जनाएको छ ।
बिषेशज्ञ डाक्टरको सुविधा तथा नेपाल सरकारबाट सञ्चालित बीमा सेवासमेत सञ्चालन गर्ने गरिको अस्पतालको तयारी रहेको अस्पतालका कोषाध्यक्ष जीवन खड्काले जानकारी दिए । चार बर्ष अघि जनस्तरबाट ‘नागरिक सामुदायिक अस्पताल’ को अवधारण सहित अस्पतालको निर्माण कार्य सुरु गरिएको थियो । स्वास्थ्यमा विपन्न नागरिकको पहुँच बढाउने उद्देश्यले अस्पताल निर्माण गरिएको बताइएको छ ।

सेवाभन्दा पनि नाफामुखी उद्देश्यले सञ्चालन भएका अस्पतालको तुलनामा नागरिक अस्पतालले सहुलियतमा उपचार सेवा उपलब्ध गराउने नीति लिएको छ’, अस्पतालका शेयर सदस्य राजकुमार पोखरेलको भनाई छ ।
भवन निर्माणमा बिर्तामोडका अगुवाले चासो दिँदै लगानी जुटाइरहेका छन् । नागरिक तहबाट भवन निर्माणका लागि शेयर लगानी भइरहेको कार्यकारी प्रमुख पौडेलले बताए । उनले अन्यलाई पनि जोडिन आग्रह गरेका छन् ।
‘स्वतस्फूर्त जनस्तरबाट शेयर खरिद भइरहेको छ’, पौडेलले भने, ‘राम्रो कामका लागि पैसा जुटाउन समस्या नहुँदो रहेछ ।’ बिर्तामोडमा रहेका प्रारम्भिक सहकारी संस्थाले पनि अस्पताल निर्माणमा शेयर लगानी गरिरहेका छन् ।
स्वास्थ्य सेवा खर्चिलो बन्दै गइरहेका बेला नागरिक आफैँ अस्पताल निर्माणमा जुटेका कारण यसलाई सकारात्मक रुपमा हेरीन आवश्यक रहेको बिर्तामोड स्थित न्युटन्स एजुकेशन एकेडेमीका प्रिन्सिपल देबेन्द्र हुंमागांई बताउंछन् । सहुलियतमा गुणस्तरीय सेवा उपलब्ध गराउने दीर्घकालिन नीतिसहित निर्माण भइरहेको अस्पताल सर्वसाधारणको स्वास्थ्य पहुँचमा सरलता प्रदान गर्न मदत पुग्ने बिर्तामोडमा युवा व्यवसायी तथा सामाजिक अगुवा निर्मल भट्टराई बताउंछन् ।









































