झापाको बिर्तामोड २ मा रहेको इष्टर्न साहारा कम्पनी लिमिटेडको तेस्रो बार्षिक साधरणसभा सम्पन्न भएको छ । आज आइतबार बिर्तामोडमा इष्टर्नको बार्षिक साधरणसभा सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि सिने जगतका महानायक राजेश हमालले देशको विकासमा जनस्तरबाटै लाग्नुपर्नेमा जोड दिए ।
साधारणसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि हमालले मुलुक निर्माणमा सबैभन्दा ठूलो भूमिका नागरिकले नै राख्ने बताएका हुन् ।

साधारण सभामा इष्टर्न साहारा कम्पनीका अध्यक्ष महेन्द्र गिरीले स–साना पूँजीलाई एकीकृत गरेर दीगो समृद्धिका हरित ऊर्जामा लगानी गर्ने उद्देश्य कम्पनीले लिएको बताए । उनले कम्पनीले जलविद्युत, सौर्य ऊर्जा, कृषि, पर्यटन, प्रविधि, पूर्वाधार लगायतका क्षेत्रमा क्रमशः लगानी गर्दै जाने योजना रहेको सुनाए ।
कम्पनिले गत बर्ष २ करोड ५५ लाख ३७ हजार ८९८ रुपैँया मुनाफा आर्जन गरेको जनाएको छ ।
। कम्पनीले आर्थिक बर्ष २०८०र८१ मा ४३ लाख १० हजार ५०७ रुपैँया मुनाफा आर्जन गरेको थियो ।
एक अर्ब ५० करोड अधिकृत पूँजी, १ अर्ब ३७ करोड जारी पूँजी र १ अर्ब १० करोड चुक्ता पूँजी रहेको इष्टर्न साहाराको चुक्ता पूँजी २ अर्ब पुर्याइने संस्थाका अध्यक्ष गिरीले जानकारी दिए । कम्पनीमा न्यूनतम २ लाखदेखि १ करोडसम्म लगानी गर्ने शेयर सदस्यहरुको संख्या २६०० बढी रहेका छन् ।
कम्पनीले बुढीगण्डकी जलविद्युत आयोजना, माथिल्लो तमोर जलविद्युत आयोजना, इशुवा खोला जलविद्युत आयोजना, सुपर आंखु खोला जलविद्युत आयोजना, बलेफी–ए जलविद्युत आयोजना, एनसी एग्रो टेक इण्डष्ट्रिज लिमिटेड, झापा इनर्जी लिमिटेड, जनता एग्रो एण्ड फरेष्ट लिमिटेडलगायतमा लगानी गरेको छ ।
आगामी ६ महिना भित्रै कम्पनीले सर्वसाधारणका लागि आइपीओ जारी गर्न लागेको कम्पनी सचिव कृष्ण रानाभाटले जानकारी दिए ।
कम्पनीका प्रबन्धक रानाभाटले कम्पनीको अधिकृत पुँजी रू एक अर्ब ५० करोड, जारी पुँजी रू एक अर्ब ३७ करोड ५० लाख र चुक्ता पूँजी रू एक अर्ब १० करोड रहेको जानकारी दिए ।
सञ्चालक कल्पना विश्वकर्माले स्वागत गरेको कार्यक्रम को सन्चालन एकराज गिरीले गरेका थिए ।
साधारणसभामा कम्पनीका सञ्चालक गोपाल भट्टराई, पवनलाल राजवंशी, कम्पनीका शेयर सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो ।









































