झापा । झापाको मेचीनगर नगरपालिका–११ स्थित कालिका सिमसार क्षेत्रबाट लागुऔषधसहित नौ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मेचीनगर–११ स्थित कालिका सिमसारमा लागुऔषध कारोबार हुँदै गरेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
आइतबार साँझ ७ बजे इलाका प्रहरी कार्यालय बुधवारे र सशस्त्र प्रहरी बेस क्यामप टिमाई झापाबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको थियो ।
मेचीनगर–७ का २६ बर्षीय बिमल मेचे र मेचीनगर–११ का २३ बर्षीय प्रबिन राईलाई शंका लागेर चेक जाँच गर्दा बिमल मेचेको साथ बाट लागुऔषध ब्राउन सुगर जस्तो देखिने खैरो लिसाईलो पदार्थ प्लाष्टिक बाहेक ४ ग्राम ४५० मिलिग्राम फेला परेको थियो । उनीहरुका साथबाट नगद तथा जेन्सी सामाग्रीसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी, मेचीनगर–८ का २० बर्षीय कविस मेचे, मेचीनगर–११ का २८ बर्षीय बासु राजबंशी, सोही स्थानका ३४ बर्षीय सुरेश खड्का, मेचीनगर–१० टिकापुरका ३० बर्षीय घनश्याम माझी, बुद्धशान्ति गाउँपालिका–४ बर्नेका ३५ बर्षीय कुमार गुरुङ, बुद्धशान्ति गाउँपालिका–३ का २५ बर्षीय सन्दिप सराइली र बुद्धशान्ति गाउँपालिका–४ का ३८ बर्षीय राजेन्द्रकुमार थापालाई पक्राउ गरिएको छ ।
पक्राउ परेका उनीहरुलाई इलाका प्रहरी कार्यालय धुलाबारी झापामा ल्याएर थप अनुसन्धान कार्य भइरहेको रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । यसअघि सोही स्थानबाट लागूआोषध सेवन गरिरहेको अवस्थामा ४३ जना र कारोबारी समेतलाई नियन्त्रणमा लिएर अनुसन्धान तथा कारवाही गरिएको थियो ।









































