बिर्तामोड : इस्टर्न साहारा कम्पनी लिमिटेडले सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरेको छ । आइतबार बिर्तामोडमा आयोजित कम्पनीको तेस्रो वार्षिक साधारण सभाले सेयर निष्कासन सम्बन्धी विशेष प्रस्ताव पारित गरेको हो ।
साधारण सभाले सेयर निष्कासन सम्बन्धी आवश्यक तयारी, व्यवस्थापन र प्रक्रियाका लागि सञ्चालक समितिलाई अख्तियारी दिने पनि निर्णय गरेको छ ।
‘तपाईँहरूले सोचेभन्दा छिटो केही महिनाभित्रै आइपिओ खुल्छ’, कम्पनीका अध्यक्ष महेन्द्रकुमार गिरीले भने, ‘सम्भवत छ महिनाभित्र आइपिओ खुल्छ भन्ने लाग्छ ।’
आइपिओमा जानका लागि कम्पनीले मंसिर २४ गते नेपाल धितोपत्र बोर्डमा आवेदन गरिसकेको पनि अध्यक्ष गिरीले बताए । कम्पनीले २७ करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ निष्कासनको तयारी गरेको हो ।
दिगो समृद्धिका लागि हरित लगानी भन्ने नाराका साथ स्थापना भएको कम्पनीले साना लगानीकर्तालाई उद्यमशीलतासँग जोड्ने उद्देश्य राखेको छ । अहिले कम्पनीको सेयर पूँजी १ अर्ब १० करोड रुपैयाँ छ ।
कम्पनीले लगानीका प्रमुख पाँच क्षेत्र पनि निर्धारण गरेको छ । हाइड्रोपावर र नवीकरणीय ऊर्जा, कृषि र जलवायु परिवर्तन सम्बन्धी परियोजना, सूचना प्रविधि, पर्यटन र सेवा तथा पूर्वाधार विकासका क्षेत्रमा लगानी बढाउँदै लैजाने कम्पनीको नीति छ ।








































