काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा भित्र ‘जेनजी नेतृ’ का रूपमा चर्चित निशा डाँगीले प्रतिनिधिसभाको चुनावमा प्रत्यक्षतर्फ उम्मेदवारी दिने सुर कसेकी छन् । उनले आफ्नै निर्वाचन क्षेत्र झापाको २ नम्बरमा लड्ने तयारी गरेकी हुन् ।

डाँगी यसअघि रास्वपाको समानुपातिक सांसद थिइन् । २५ वर्षकै उमेरमा संसद भवन छिरेकी उनलाई ‘कान्छी सांसद’ का रूपमा चिन्ने गरिन्थ्यो । पार्टीले संसदमा उनलाई सचेतकको जिम्मेवारीसमेत दिएको थियो । संसदमा प्रभावकारी भूमिका निभाएको हुँदा उनलाई नेतृत्वले यसपटक प्रत्यक्ष चुनावबाटै लैजान खोजेको बुझिएको छ ।

रास्वपाले टिकटको टुंगो भने लगाइसकेको छैन । यसपटक प्राइमरी इलेक्सन नहुने भएको हुँदा आकांक्षीहरुले आआफ्नै ढंगबाट लविङ गरिरहेका छन् । केही आकांक्षीले आफैँ पार्टीमा निवेदन दिएका छन् त केहीले स्थानीय कमिटीबाट सिफारिस गराएका छन् । उम्मेदवारको सिफारिस रास्वपाले डा। स्वर्णिम वाग्लेको संयोजकत्वमा एक समिति बनाएको छ ।

झापा २ मा डाँगीबाहेक पूर्वसभामुख इन्दिरा रानाको नाम पनि स्थानीयस्तरमा चर्चामा छ । यद्यपि, डाँगीकै सम्भावना बलियो रहेको स्रोत बताउँछ । यो क्षेत्रमा यसअघि एमालेबाट देवराज घिमिरे विजयी बनेका थिए । उनी हाल सभामुख छन् । घिमिरेले २७७७० मत ल्याएर विजयी हुँदा स्वतन्त्र उम्मेदवार स्वागत नेपाल २२९७ मतले पछि परेका थिए । तेस्रो स्थानमा माओवादी र चौंथोमा रास्वपा थियो ।

यसपटक पनि एमालेबाट घिमिरे एक नम्बरमा सिफारिस भएका छन् । एमालेका प्रभावशाली नेता अग्नी खरेल पनि यसै क्षेत्रका हुन् । उनको नाम पनि सिफारिस भएको छ । तर, घिमिरेकै सम्भावना बलियो रहेको एमाले स्रोतहरुको भनाइ छ । पार्टी अध्यक्ष केपी ओलीसँग खरेलको सम्वन्ध पहिलेजस्तो सुमधुर अहिले छैन । nepalpress.com