विर्तामोड : नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको २० औँ स्थापना दिवस झापामा विविध सामाजिक तथा शैक्षिक कार्यक्रमका साथ भव्य रूपमा मनाइएको छ । सोमबार गोलोक गोवर्धन गौशालाको सभाहलमा आयोजित कार्यक्रममा संस्कृत शिक्षा र पठन संस्कृतिको प्रवद्र्धनलाई केन्द्रमा राख्दै उल्लेखनीय योगदान गरिएको महासंघ झापाले जनाएको छ ।

स्थापना दिवसको अवसरमा झापाको गोलोक गोवर्धन गौशालाका ३८ जना कर्मचारी तथा श्री सताक्षी गुरुकुलका ४५ जना विद्यार्थीलाई संस्कृतका पुस्तक, स्टेशनरी सामग्री र खेलकुदका सामग्री वितरण गरिएको थियो । यस किसिमको सहयोगले संस्कृत शिक्षा र अनुशासनयुक्त जीवनशैली प्रवद्र्धनमा टेवा पुग्ने आयोजकहरूको विश्वास छ ।

महासंघ झापाले यसअघि पनि सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू गर्दै आएको छ । १८ औँ स्थापना दिवसमा झापा कारागारका बन्दीहरूको पठन संस्कृतिको विकासका लागि पुस्तक र खेलकुद सामग्री प्रदान गरिएको थियो भने १९ औँ स्थापना दिवसमा फरक क्षमता भएका विद्यार्थीहरूलाई खाद्यान्न सामग्री वितरण गरिएको थियो ।

निरन्तर सामाजिक सेवामा सक्रिय रहँदै आएको झापा शाखाको यो पहललाई महासंघको केन्द्रिय समितिले उच्च मूल्याङ्कन गर्दै आएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष तथा केन्द्रका पदेन उपाध्यक्ष जीवन नेपालले झापा जिल्लाले पठन संस्कृतिको विकासका लागि रचनात्मक र प्रभावकारी काम गर्दै महासंघको गरिमा उच्च बनाएको बताए ।

उनले केन्द्र र प्रदेशस्तरबाट निरन्तर सम्मान पाउनु झापाको सक्रियता र प्रतिबद्धताको प्रमाण भएको उल्लेख गरे । ‘झापा अन्य जिल्लाको तुलनामा संगठनको हितमा अग्रसर र उदाहरणीय रूपमा अघि बढिरहेको छ,’ उनले भने । केन्द्रीय सह–कोषाध्यक्ष रविन बरालले पुस्तक व्यवसायी केवल व्यापारमै सीमित नभई समाजप्रति उत्तरदायी बन्दै गएको बताए ।

उनले ज्ञान, शिक्षा र संस्कृतिको प्रवद्र्धनमार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउने अभियानमा महासंघ प्रतिबद्ध रहेको स्पष्ट पारे । कार्यक्रमका विशिष्ट अतिथि गोलोक गोवर्धन गौशालाका संरक्षक तथा अध्यक्ष नन्दकिशोर भारद्वाजले संस्कृत विधाका विद्यार्थीलाई जीवनोपयोगी पुस्तक प्रदान गर्नु पुस्तक व्यवसायीको अत्यन्त प्रशंसनीय कार्य भएको बताए ।

उनले हिन्दु सनातन धर्मको संरक्षण र प्रवद्र्धनमा पुस्तक व्यवसायीहरूको भूमिका अतुलनीय रहेको उल्लेख गरे । कार्यक्रम महासंघ झापाका अध्यक्ष विनोद सापकोटाको सभापतित्वमा तथा सचिव चन्द्रमणि घिमिरेको सहजीकरणमा सम्पन्न भएको थियो । कार्यक्रमले शिक्षा, संस्कार र सामाजिक उत्तरदायित्वलाई एकसाथ अघि बढाउने झापाको प्रयासलाई थप बलियो बनाएको कार्यक्रमका सहभागिले बताएका छन् ।

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ झापाकोे निरन्तर सामाजिक योगदानले जिल्लालाई मात्र होइन, समग्र पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघलाई पनि गौरव प्रदान गरिरहेको व्यवसायीले बताएका छन् ।