बिर्तामोड । इन्डो नेपाल मेचीनगर मिडिया फुटबल कप २०८२ को उपाधि भारतको तराई प्रेस क्लब दार्जिलिङले उचालेको छ । प्रथम संस्करणको प्रतियोगिता भारतीय पत्रकारको पोल्टामा पुगेको हो ।

आज काँकरभिट्टा माविको खेल मैदानमा सम्पन्न फाइनल खेलमा भद्रपुर प्रेस क्लबलाई २(० गोल अन्तरले हराउँदै दार्जिलिङको तराई प्रेस क्लबले उपाधि जितेको हो ।

उपाधिसँगै तराई प्रेस क्लबले नगद ५० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेतामा सीमित भद्रपुर प्रेस क्लबले नगद २५ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्रमा चित्त बुझायो ।

फाइनल खेलको प्लेयर अफ द म्याच तराईका दावा लामा भए । त्यस्तै, प्रतियोगिताको उत्कृष्ट गोलकिपर भद्रपुरका सुजक राउत, उत्कृष्ट डिफेन्डर भद्रपुरका राजु पाठक, उत्कृष्ट फरवार्ड मेचीनगरका युवराज आचार्य भए ।

त्यस्तै, उच्च गोलकर्ता तराईका प्रवेश भुजेल भए । सर्वोत्कृष्ट खेलाडी भद्रपुरका सुशान्त नेपाल भए । उनीहरुले नगद पुरस्कार र ट्रफी पाए ।

विजेता तथा उपविजेतालाई प्रमुख अतिथि मेचीनगर नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, प्रदेशसभाका पूर्वसदस्य श्रीप्रसाद मैनाली, पर्यटन कार्यालय काँकरभिट्टाका प्रमुख छविलाल खतिवडा, आयोजक मेचीनगर प्रेस क्लबका अध्यक्ष प्रकाश पौडेल लगायतले पुरस्कार वितरण गरे ।