बिर्तामोड, । बिर्तामोड उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कुमार भट्टराईले आफ्नो जन्मदिनको अवसरमा संघले स्थापना गरेको ‘व्यवसायी सदस्य राहत कोष’मा २१ हजार रुपैयाँ सहयोग गरेका छन् ।

संघको कार्यालयमा आज आयोजित एक कार्यक्रममा पूर्व अध्यक्ष भट्टराईले संघका अध्यक्ष राजु न्यौपानेलाई रकम हस्तान्तरण गरे ।

आपत्–विपद्, आकस्मिक दुर्घटना वा असहज परिस्थितिमा परेका व्यवसायीलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको उक्त कोषलाई व्यवसायीहरूकै साझा सुरक्षा कवचका रूपमा विकास गर्ने लक्ष्य लिइएको संघले जनाएको छ ।

संघका अध्यक्ष राजु न्यौपानेले राहत कोषलाई एक करोड रुपैयाँसम्म पुर्‍याउने दीर्घकालीन लक्ष्य रहेको उल्लेख गर्दै त्यसका लागि व्यवसायीहरूको एकता र निरन्तर सहयोग अपरिहार्य रहेको बताए ।

कोष वृद्धिमा योगदान पुर्‍याएको भन्दै संघले पूर्व अध्यक्ष भट्टराईलाई कदरपत्रसहित सम्मान गरेको छ । कार्यक्रममा विशिष्ट सदस्य निर्मल भट्टराईसहित विभिन्न क्षेत्रका व्यवसायीहरूको उपस्थिति थियो ।

सहभागीहरूले राहत कोषलाई मजबुत बनाउँदै व्यवसायीहरूलाई कठिन समयमा साथ दिनु नै संघको मुख्य दायित्व भएको धारणा राखेका छन् । कार्यक्रमको सञ्चालन संघका महासचिव कुशल खतिवडाले गरेका थिए ।