बिर्तामोड-राष्ट्रिय परिवर्तन पार्टीले झापा क्षेत्र नम्बर ५ मा उमेद्वारी दिने घोषणा गरेको छ ।
मंगलबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी पार्टीले झापा ५ मा उमेद्वारी दिने तयारी भएको जनाएको हो ।
परिवर्तन पार्टीले उम्मेदवारका रुपमा सबिन चाम्लिङ राईलाई अगाडि सारेको छ । पार्टीका प्रवक्ता समेत रहेका राई फोटो तथा भिडियोग्राफी व्यवसायमा संलग्न छन् ।
पत्रकार सम्मेलनमा राईले जेनजी पुस्ताको प्रतिनिधिको रुपमा आफूले झापा-५ बाट चुनाव लड्ने बताए ।
‘जेनजी आन्दोलनका घाइते, सहिद परिवार र शुभेच्छुककाे साझा पार्टीका रूपमा राष्ट्रिय परिवर्तन पार्टी उदाएको छ’ राईले भने ।
चुनाव चिन्ह बाँसुरी लिएर अगाडि बढेको परिवर्तन पार्टीले संक्षिप्त घोषणापत्र जारी गर्दै राष्ट्रिय सातवटा मुद्दामा आफ्नो धारणा पनि सार्वजनिक गरेको छ ।







































