बिर्तामोड :  आसन्न सातौँ झापा गोल्डकप विनोद बस्नेत स्मृति संस्करणको तयारीका लागि बिर्तामोडका जनप्रतिनिधि तथा झापाका सुरक्षा प्रमुखहरुसँग अन्तरक्रिया गरिएको छ ।

झापाको बिर्तामोडमा आज भएको अन्तरक्रियामा सहभागी प्रतिनिधिहरुले प्रतियोगितालाई उत्सवका रुपमा मनाउन सुझाव दिएका छन् । स्थानीय सरकारका प्रतिनिधिहरुले सकरात्मक सहयोगको वचनबद्धता समेत जनाएका छन् ।

बिर्तामोडका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले स्थानीय सरकार यो प्रतियोगिताको अभिभावकीय भूमिका निर्वाह गर्ने बताए । अन्तरक्रियामा उपप्रमुखसहित बिर्तामोड नगरका वडा अध्यक्षहरु अग्निप्रसाद पाण्डे, किशारकुमार पौडेल, मदन बुढाथोकी, राहुल शर्मा, रोहित प्रसाईं र दुर्योधन गुरुङको उपस्थिति रहेको थियो ।

यसैबीच, सुरक्षा निकाय प्रमुखहरुसँगको अन्तरक्रियामा झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले व्यवस्थापन पक्षलाई मजबुद बनाउन सुझाव दिए ।

अन्तरक्रियामा सशस्त्र प्रहरीको पाथिभरा तालिम शिक्षालयका प्रमुख सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक रमेश पाण्डे, झापा प्रहरी प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्का, सशस्त्र प्रहरी २ नम्बर गणका प्रमुख तुलाबहादुर भण्डारी, इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख विजय श्रेष्ठले आआफ्नो सुझाव दिएका थिए ।

त्यस्तै, गोल्डकपले आज नै प्रतियोगिताका सल्लाहकारहरुसँग पनि अन्तरक्रिया गरेको छ । उनीहरुले गोल्डकपको गरिमालाई अझ अभिवृद्धि हुनेगरी सातौँ संस्करण सञ्चालन गर्न सुझाव दिएका थिए ।

गोल्डकपका अध्यक्ष केदार गिरीको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष गजेन्द्रबहादुर पौडेलले स्वागत गरेका थिए । अन्तरक्रियाको सहजीकरण सचिवालय सदस्य केशव भट्टराईले गरेका थिए ।