झापा  । 

जिल्ला प्रहरी कार्यालय झापाकी प्रहरी  वसुन्धरा खड्काले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्लामा सुरक्षा व्यवस्था उच्च प्राथमिकताका साथ अघि बढाइएको बताएकी छन् । प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गरी सुरक्षा व्यवस्थामा कुनै कसर बाँकी नराखिने उनले बताएकी हुन् । 

भर्खरै सरुवा भएर झापा आएकी प्रहरी उपरीक्षक खड्काले आज जिल्ला प्रहरी कार्यालयको सभाहलमा आयोजित पत्रकार भेटघाटमा सुरक्षा तयारी र प्राथमिकताबारे संचारकर्मीलाई जानकारी गराएकी हुन् ।

कार्यक्रममा उनले सुरक्षा संवेदनशीलता तथा उम्मेदवारको सुरक्षा जोखिमको मूल्याङ्नका आधारमा सुरक्षाकर्मी परिचालन गरिने जानकारी दिइन् । कुनै पनि उम्मेदवारले आफ्नो सुरक्षामा चुनौती महसुस गरी निवेदन दिएमा आवश्यकताअनुसार तत्काल सुरक्षा उपलब्ध गराइने उनले स्पष्ट पारिन् ।

निर्वाचन सुरक्षालाई थप प्रभावकारी बनाउन जिल्लामा १०० जना सुरक्षाकर्मी थप गरिएको र उनीहरू सडक, गाउँघर तथा संवेदनशील क्षेत्रमा परिचालन भइसकेको उनको भनाइ छ ।

थप सुरक्षाकर्मीको उपस्थितिलाई शङ्काको रूपमा नलिन आग्रह गर्दै उनले सबै सुरक्षाकर्मी सुरक्षा योजनाअनुसार परिचालित भइरहेका बताइन् । आवश्यकताअनुसार थप सुरक्षाकर्मीसमेत खटाइने उनले उल्लेख गरिन् ।

नियमित गस्तीका क्रममा कुनै उम्मेदवारसँग सम्बन्धित व्यक्तिको आसपास सुरक्षाकर्मी देखिनु संयोग मात्र हुनसक्ने जनाउँदै त्यसलाई विशेष सुरक्षा दिइएको अर्थमा नबुझ्न उनको आग्रह छ । साथै, हराएका हतियारको खोजी कार्य निरन्तर जारी रहेको जानकारी दिँदै ती हतियार प्रयोगमा नआउने सुनिश्चित गर्न प्रहरीले खोजी तीव्र बनाएको पनि बताइन् । 

जिल्लामा हाल करिब १२ सय प्रहरी कार्यरत छन् भने आवश्यकता अनुसार थप जनशक्ति पनि माग गरिएको उनले जानकारी दिइन्। प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको जिल्ला सुरक्षा समितिसँग समन्वय गर्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य सुरक्षा निकायले आ–आफ्नो तहबाट चुनाव लक्षित सुरक्षा योजना कार्यान्वयन गरिरहेको एसपी खड्काको भनाइ छ।

यसैबीच, गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि हराइरहेका १६ नाल बन्दुक र फरार थुनुवाको खोजी कार्यलाई पनि तीव्र बनाइएको उनले बताइन्। 

खुला सीमा नाकाबाट हुने चोरी पैठारी, लागूऔषध कारोबार र विभिन्न प्रकारका तस्करी नियन्त्रण गर्न विशेष निगरानी बढाइने पनि उनको दाबी छ।

कानून विपरीतका कार्य गर्ने कसैले पनि छुट नपाउने उनले बताइन ।  उनले राज्यको नीति नियमानुसार काम गर्ने जो कोहीलाई सघाउन प्रहरी हरपल तयार रहेको स्पष्ट पारीन ।