झापाको बिर्तामोड ४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड १५ औं वर्षमा प्रवेश गरेको छ।
२०६७ साल माघ २४ गते विधिवत रूपमा डिभिजन सहकारी कार्यालय भद्रपुरमा दर्ता भएर सञ्चालनमा आएको सिम्रिक साकोस आज शनिबारबाट १५ औ वर्षमा प्रवेश गरेको हो।
विपन्न समुदायका मानिसहरूको आर्थिक स्थिति सुदृढ गराउन सकिन्छ भन्ने उद्देश्यका साथ ५५ जना व्यक्तिहरूको सामूहिक प्रयासद्वारा २० लाख ५० हजार पुँजीबाट सिम्रिक साकोसको २०६७ सालमा स्थापना गरिएको साकोसका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले जानकारी दिए।

वार्षिकोत्सवको अवसरमा सहकारीका कार्यकारी प्रमुख बस्नेतले संस्थामा आबद्ध सम्पूर्ण संस्थापक, अग्रज नेतृत्व, सञ्चालक, सदस्य, कर्मचारी, सम्पूर्ण शुभचिन्तकहरुमा हार्दिक आभार तथा धन्यवाद ज्ञापन गरेका छन् ।
‘सदस्यहरुको आर्थिक, सामाजिक उन्नयनका लागि समुदायमा आधारित सिम्रिक साकोसले विभिन्न आरोह र अवरोहबीच आज जुन पहिचान बनाएका छ, त्यसको आधार सदस्यहरुले संस्थाप्रति
देखाएको विश्वास र सक्रियता, परिश्रमी कर्मचारी र नेतृत्व नै हो,’ संस्थाकाे कार्यकारी प्रमुख कमल बस्नेत र अध्यक्ष सुवास भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सहकारीका अन्तर्राष्ट्रिय मूल्य, मान्यता र सिद्धान्तहरुलाई आत्मसाथ गर्दै बचत तथा ऋण कारोबारसँगै, डिजिटल सेवा, सामाजिक कार्य, विभिन्न रचनात्मक कार्यकै कारण उत्कृष्ट संस्थाको पहिचान बनाउन सफल भएको बिज्ञप्तिमा उल्लेख छ ।’
तत्कालीन अवस्थामा पाँचवटा गाविस कार्यक्षेत्रबाट संस्थाकाे सुरुवात भएको थियो।

झापा ,इलाम, मोरङ पाँचथर जिल्लामा कार्यक्षेत्र रहेको सिम्रिक साकाेसले ४६ वटा सेवा केन्द्र मार्फत सेवा प्रवाह गरिररहेकाे छ ।
त्यस्तै विपन्न वर्गका महिलाहरूको आर्थिक स्तर सुधारका निम्ति १० वटा सेवा केन्द्रबाट लघुबृत्त कार्यक्रम समेत सञ्चालनमा ल्याइएको साकोसका कार्यकारी प्रमुख बस्नेतको भनाइ छ।
बचत र ऋणको मात्र कारोबार नगरी सिम्रिक साकोसले सामाजिक क्षेत्रमा पनि उत्तिकै क्रियाशीलताका साथ काम गरिरहेको छ।
साकोसले विपन्न समुदायका नागरिकहरूलाई लक्षित गरेर स्वास्थ्य शिविर, सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुधारका लागि शैक्षिक सामग्री वितरण, सदस्यहरुलाई आर्थिक
उपार्जनमा जोड्नका लागि मौरीपालन तालिम, बाख्रा पालन, ब्युटिसियन, धुपबात्ती अचार बनाउने तालिम पनि साकोसले दिइरहेको संस्थाका अध्यक्ष सुवास भट्टराई बताउंछन ।
सदस्यहरूलाई उद्यममा जोड्ने प्रयासका साथ लागिरहेको सिम्रिक साकोसले सीप भएर पनि पुँजी अभावमा समस्या भोगिरहेका सदस्यहरुलाई समेत सहयोग गरिरहेको कार्यकारी प्रमुख बस्नेतले जानकारी दिए।
त्यस्तै सिम्रिक साकोसका अध्यक्ष सुवास भट्टराईले पनि संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत समाज रूपान्तरणका लागि वर्षौंदेखि काम गर्दै आइरहेको जानकारी दिए।
सिम्रिक साकोसको २०८२ पौष मसान्तसम्ममा सेयर पूँजी ३६ करोड ३९ लाख ४८,६०० जगेडा कोष ८ करोड ७३ लाख ८५ हजार ६१९ अन्य कोषहरू २२ करोड ३२ लाख ४० हजार ६५, निक्षेप रकम २ अर्ब ३७ करोड ५ लाख ८२ हजार ४३३, लगानी रकम २
अर्ब ८३ करोड ७१ लाख २२ हजार २२५ कुल संस्थागत पूँजी ९ करोड ८० लाख ७६ हजार २४४ ऋणी सङ्ख्या १५ हजार ४९० र वासलात ३ अर्ब ४८ करोड २६ लाख १०८१ रुपैयाँ रहेको जनाएको छ।
संस्थामा हाल ७० हजार ५१२ जना शेयर सदस्यहरू रहेका छन्।










































