धुलाबारी ः 

झापाको धुलाबारीमा रहेको  शैक्षिक तथा अतिरिक्त विधामा अब्बल इष्ट होराइजन अंग्रेजी माध्यमिक विद्यालयमा आज शनिबार ‘करियर काउन्सिलिङ’ कार्यक्रम आयोजना गरिएको छ ।

पूर्वमै सम्भवत पहिलो पटक आयोजना भएको उक्त कार्यक्रममा विभिन्न जिल्लाका १३ वटा भन्दा बढी विधाका विषय छनोट गरेर तिनीहरुका सम्बन्धित दक्ष बिज्ञ सहित स्टल राखिएको थियो । 

हरेक स्टलहरुमा विषयगत विज्ञहरुले अभिभावक तथा विद्यार्थीका जिज्ञासा मेटाएका थिए ।  विद्यालय परिसरमा आयोजित करियर काउन्सिलिङ कार्यक्रममा एआई, मेडिसिन हेल्थ, विजनेश, जोर्नालिजम, एग्रीकल्चर, ल, हस्पिटालिटी, सिभिल सर्भिस, इन्जिनियरिङ, एजुकेसन, आर्टस्, स्पोट्र्स लगायतका स्टल प्रदर्शनीमा राखिएको थियो । 

WhatsApp Image 2026-02-07 at 20.11.05

विद्यार्थी र अभिभावकहरुको उल्लेख्य उपस्थिति रहेको उक्त विषयगत स्टलहरु मध्ये एआई र मेडिसिन हेल्थमा अवलोकनकर्ताहरुले रुचिका साथ जिज्ञासा राखेको पाइएको बताइएको छ ।   

विद्यार्थीलाई भविष्यमा कुन विषय बढ्दा उपयुक्त हुन्छ भनेर सहयोग पुग्ने उदेश्यले नौलो र उपयोगी कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रिन्सिपल सन्जिव राईले बताए । ‘विद्यार्थीहरुलाई कुन विषयमा रुचि छ भन्ने कुरा खासै थाहा नहुन सक्छ,’ उनले भने, ‘आफ्नो क्षेत्रमा चाहना भएको विषयमा रमाएर पढ्न सक्छन् भनेर त्यसका लागि यो कार्यक्रम गरिएको हो ।’ 

WhatsApp Image 2026-02-07 at 20.11.06

प्रिन्सिपल राईले विद्यार्थीलाई रुचि अनुसार विषय छान्न पनि सुझाव दिए । उनले विद्यार्थी र अभिभावकले नबुझीकन विषय रोज्दा भविष्यमा सफलता हासिल गर्न मुस्किल पर्ने बताए । त्यसका लागि पनि सुरुमै विद्यार्थीलाई विषयगत ज्ञान र रुचि आवश्यक रहने उनको भनाई छ । 

आगामी दिनमा यसखाले कार्यक्रमलाई निरन्तरता दिइने पनि प्रिन्सिपल राईले जानकारी दिए । कार्यक्रममा विशेषगरी विद्यालयका कक्षा ८, ९ र १० विद्यार्थी सहभागी थिए । अन्य विद्यालयका शिक्षक तथा विद्यार्थीसमेतले शैक्षिक स्टलहरुको अवलोकन गरेका थिए ।   

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधव पौडेलको अध्यक्षता तथा अग्रज पत्रकार चन्द्र भण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । प्रमुख अतिथि भण्डारीले विद्यालयको शिक्षा संस्कारमुखी हुनुपर्ने बताए । उनले अहिलेका नयाँ पुस्तालाई अभिभावकहरुले अर्गानिक शिक्षा सिकाउनु पर्नेमा जोड दिए ।