भारतबाट अवैध रूपमा कपडा भित्र्याएर ठूलो मात्रामा राजस्व छली गर्ने प्रयास प्रहरीले विफल पारेको छ । विशेष सूचनाका आधारमा मोरङ प्रहरीले विराटनगरबाट कपडाले भरिएका दुईवटा ट्रक नियन्त्रणमा लिएको हो ।

विराटनगर महानगरपालिका–१४ स्थित नेपाल टेलिकम कार्यालय अगाडिबाट नियन्त्रणमा लिइएका ती ट्रकमा बिल–बीजकभन्दा बढी परिमाणमा कपडा लोड गरिएको र भन्सार मूल्यांकन जानाजानी कम देखाइएको पाइएको प्रहरीले जनाएको छ ।

मोरङ प्रहरीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक ९डीएसपी० हरिनन्दन चौधरीका अनुसार प्र ३–०१–००५ ख ९४२५ र प्र ३–०१–००६ ख १३०८ नम्बरका ट्रक भारतबाट नेपाल प्रवेश गरेका थिए । 

नियन्त्रणमा परेका चालकमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ का ४९ वर्षीय ऋषिराम पौडेल र रामेछापको मन्थली नगरपालिका–१० का ३७ वर्षीय कुमार बुढाथोकी रहेका छन् ।

प्रहरीको प्रारम्भिक अनुमानअनुसार ट्रकमा लोड गरिएको लत्ताकपडाको कुल मूल्य १ करोड ८१ लाख २६ हजार ८७ रुपैयाँ बराबर रहेको छ ।

नियन्त्रणमा लिइएका ट्रक र चालकलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय, इटहरीमा बुझाइएको छ । राजस्व छलीसँग सम्बन्धित कसुर पुष्टि भएमा प्रचलित कानुनअनुसार कडा कारबाही अघि बढाइने प्रहरीले जनाएको छ ।