अर्जुनधारा । झापाको अर्जुनधारा ६ मा रहेको बालकल्याण आधारभुत विद्यालयले रजत जयन्ती समारोह मनाएको छ । बिद्यालयले एक समारोहको आयोजना गरेर बिद्यालय स्थापनामा भूमिका खेल्ने संस्थापक, जग्गादाता, बिद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष लगायतलाई सम्मान गरेर रजत जयन्ती मनाएको हो ।
५ कठ्ठा क्षेत्रफलमा २०५७ सालमा स्थापना भएको बिद्यालयमा हाल कक्षा ८ सम्म अध्ययन, अध्यापन हुने गरेको छ । बिद्यालयमा हाल १८० जना बिद्यार्थी अध्ययनरत रहेका छन् भने १३ जना शिक्षक कर्मचारी कार्यारत रहेको प्रधानाध्यापक डम्बर यादवले जानकारी दिए ।
रजत जयन्ती समारोहको अवसरमा बिद्यालयले रजत जयन्ती स्तम्भ निर्माण गरिदिने धनकुमार राई, जग्गादाता राधा प्रधान, सुरेश प्रसाईं, चुडामणि शिवाकोटी, मेनका शिवाकोटी, हस्तबहादुर प्रधान, कुमारी श्रेष्ठ, उषा प्रसाईं, सुरेन्द्र प्रसाईं लगायतलाई सम्मान गरेको थियो ।
यसैगरी संस्थापक सदस्यहरु भक्ति शिवाकोटी, मन्दिरा प्रसाईं, धनबहादुर खाती, छत्रप्रसाद दाहाल, रमेश प्रसाई तथा बर्ष शिक्षक सम्मानबाट चित्रकला पराजुली अधिकारी र सुप्रिया यादवलाई सम्मान गरिएको बताइएको छ ।
रनत महोत्सबका अवसरमा बिद्यालयका शिक्षाक, कर्मचारी तथा बिद्यार्थीहरुले आकर्षक नृत्य प्रस्तुत गरेका थिए । शिक्षक भेषराज अधिकारीले सञ्चालन गरेको कार्यक्रममा सम्मानित प्रतिभाहरुलाई अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन, वडा न ६ का अध्यक्ष हरिशचन्द्र वाँस्तोला, ७ का वडाध्यक्ष गोविन्द खतिवडा लगायतले सम्मानपत्र, माला,खादा लगाएर सम्मान गरेका थिए ।
रजत जयन्तीकै अवसर पारेर बिद्यालयले हालसम्मका गतिविधि समेटेर स्मारिका प्रकाशन गर्ने तयारी गरिरहेको जनाएको छ । गुणस्तरीय शिक्षाको गन्तव्य बनाउने लक्षसहित बिद्यालयले स्थानीय अभिभावकको साथ पाएको जनाइएको छ ।










































