बिर्तामोड ।
नेपाल अर्थोपेडिक एशोसिएसनको ३१ औं वार्षिक सम्मेलन तथा अर्थोकोन २०२६ कार्यक्रम झापाको बिर्तामोडमा हुने भएको छ । पहिलोपटक कोशी प्रदेशस्थित झापा जिल्लाको बिर्तामोडमा हुन लागेको अर्थोकोन २०२६ आयोजक समितिले आज बुधवार पत्रकार सम्मेलन मार्फत कार्यक्रमको तयारीको बिषयमा जानकारी दिएको हो ।
हार्डजोर्नी विशेषज्ञ चिकित्सकहरुको चार दिने कार्यक्रम अर्थात भोलि माघ २९ गतेदेखि फागुन ३ गतेसम्म हुने जनाइएको छ । कार्यक्रममा १०० भन्दा बढी हाडजोर्नीका अन्तर्राष्ट्रिय चिकित्सकहरू सहभागी जनाइएको छ । नेपालबाट ४०० भन्दा बढीको सहभागिता रहने अर्थकोन २०२६ आयोजक समितिका अध्यक्ष डाक्टर लक्ष्मीप्रसाद मैनालीले जानकारी दिए ।

माघ २९ गते बिर्तामोडका विभिन्न अस्पतालहरूमा प्रि कन्फरेन्स वर्कसप सञ्चालन गरिने र फागुन १, २ र ३ गते धुलाबारी स्थित होटल मेची क्राउन होटलमा अन्तर्राष्ट्रिय सेमिनारको आयोजना गरिएको जनाइएको छ ।
झापा जिल्लाको भौगोलिक अवस्था भुटान, बङ्गलादेश र भारतसँग मिल्दोजुल्दो भएका कारण पनि एनओएको अन्तर्राष्ट्रिय सम्बन्ध ती देशहरुसँग अत्यन्त सुमधुर तथा कसिलो सम्बन्ध रहेको डा प्रेमबहादुर शाहीले पत्रकार सम्मेलनमा जानकारी गराए ।
कार्यक्रमका लागि कोशी प्रदेश सरकारबाट ५ लाख रुपैयाँ उपलब्ध गराउने प्रतिवद्धता भएको साथै औषधि कम्पनीहरु, इम्प्लान्ट कम्पनी तथा अन्य व्यवसायी कम्पनीहरूबाट सौजन्य जुटाइने डा प्रेमबहादुर शाहीले जनाएका छन् । पहिलोपटक आयोजना गरिएको अर्थोकोन २०२६ को सञ्चालनका लागि स्थानीय संघ संस्था एवं व्यक्तिहरूले पनि साथ सहयोग गर्ने प्रतिबद्धता जनाएको आयोजकले जनाएको छ ।
कार्यक्रम उद्घाटन झापाका प्रमुख जिल्ला अधिकारी शिवलाल गेलालले गर्ने तय भएको जनाइएको छ । कार्यक्रममा डाक्टरहरु सहित झापामा सञ्चालित अस्पतालका सञ्चालक एवं मेडिकल सुपरिटेन्डेन्टहरू, संघ संस्थाका प्रतिनिधि, सामाजिक क्षेत्रका अगुवा लगायतको सहभागिता रहने अर्थोकोन २०२६ आयोजक समितिका महासचिव डाक्टर रूपेशजंग बेलबासेले बताए । डाक्टर नागमणि सिंहले पनि चिकित्सकहरुको यो महाकुम्भलाई सफल बनाउन सवैेलाई आग्रह गरे । त्यस्तै डाक्टर निराजन पराजुलीले पनि आफुले गरेका कामको छलफल र नयाँ तरिकाले कसरी उपचार गर्ने भन्ने उदेश्यले सम्मेलनको आयोजना गरिएका कारण प्रभावकारी कार्यक्रम हुने विश्वास ब्यक्त गरे ।
उनले बिभिन्न देशका हाडजोर्नी, स्पाईन, ट्रमा संग सम्बन्धित विभिन्न बिधाहरूमा रहेर विभिन्न स्पेसलिस्ट चिकित्सकहरूले सोधपत्र प्रस्तुत गर्ने र अनुभव आदानप्रदान गर्ने कार्यक्रम रहेको बताए ।
यो सम्मेलनमा सार्क मुलुकका हाडजोर्नी संग सम्बद्व रहेकोले विशेषज्ञहरुले यस्ता सम्मेलनले अर्थोपेडिक क्षेत्रका चिकित्सहरुलाई सिक्ने र सिकाउने कार्यमा महत्वपूर्ण भुमिका खेल्ने आयोजक संस्थाका डाक्टर मैनालीले विश्वास ब्यक्त गरेका छन् ।










































