झापामा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले लागू पदार्थ सेवन परीक्षण गर्न थालिएको छ । मुख्य राजमार्ग सहित सीमा वर्ती क्षेत्रमा गाडी तथा सिटी रिक्सा चलाउने चालकहरूले लागु पदार्थ सेवन गरेको अवस्थाबारे जाँच गर्न थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
यसै क्रममा आज बुधबार झापा मेचीनगर ६ मेचिपुलमा जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय काँकरभिट्टा र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापााको संयुक्त आयोजना तथा लायन्स क्लब अफ मेचीनगर र मेचीनगर आधारभुत अस्पतालको सहकार्यमा लागू पदार्थ सेवन परीक्षण गरिएको छ । झापा प्रहरी प्रमुख एसपी बसुन्धरा खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको प्रहरीले जनाएको छ ।

चालकको लागुऔषध सेवनसँगै, रक्तचाप सहित अन्य जाँच गरिएको प्रहरीले जनाएको छ । ट्राफिक प्रहरी प्रमुख सन्तोष राईका अनुसार २९ जना अटो,सिटि र मोटरसाईकल चालक लाई चेकजाँच गर्दा १३ जनाले लागुपदार्थ सेबन गरेको भेटियोको छ । जसमा २ जना महिला र ११ जना पुरुष रहेका छन् । उनीहरु इप्रका कांकरभिट्टाको नियन्त्रणमा छन् । उनीहरुलाई आवश्यक कारवाही गरिने प्रहरीले जनाएको छ ।
मादक पदार्थ सेवन गरे नगरेको परीक्षण गर्दै आएको ट्राफिक प्रहरीले लागू पदार्थ सेवनका कारण पनि दुर्घटना बढेको हुनसक्ने अनुमानका आधारमा लापसे परीक्षण अभियान सञ्चालनमा ल्याएको प्रहरी निरिक्षक राईले जानकारी दिए । बिशेष गरी सीमा नाका पुरानो मेची पुलमा सिटी सफारीका १ सय बढी चालकको स्वास्थ्य र निपाहा भाइरस परिक्षण गरिएको प्रहरी निरिक्षक राईले जानकारी दिए । सीमा नाकाको भारतीय बजारमै सहजै उपलब्ध हुने लागु औषध सिटी सफारीका चालकले सेवन गर्ने गरेको गुनासोको आधारमा परिक्षण गरिएको उनले बताए । उनले यस अभियानलाई बिभिन्न चरणमा अवस्था हेरेर निरन्तरता दिइने बताए ।

चालकको लापरबाहीसँगै लागूपदार्थ सेवनबाट पनि हुन सक्ने दुर्घटना जोखिमलाई मध्यनजर गर्दै दुर्घटना न्युनिकरणकालागि पहिलो चरणमा दुई पाङ्ग्रे, तीन पाङ्ग्रे र चार पाङ्ग्रे सवारीका चालकको लापसे परिक्षण गरिएको झापा प्रहरी प्रमुख एसपी खड्काले बताइन । स्वस्थ चालकले मात्र सुरक्षित यात्रा सुनिश्चित गर्न सक्ने निष्कर्ष सहित अभियान सुरु गरिएको उनले बताइन ।
चालकले लागू पदार्थ र मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा दुर्घटना बढिरहेको विगत आर्थिक वर्षको तथ्यांकले कोशीमा देखाएको छ ।
ब्रेथलाइजर मेसिनको प्रयोगबाट गरिने चेकजाँचले सवारी चालकले मापसे गरे रनगरेको पत्ता लाग्छ। तर, लापसे परीक्षण त्यत्ति सजिलो र कम खर्चिलो छैन। लापसे परीक्षणका लागि पहिले मानिसको पिसाब संकलन गरिन्छ। किटमा मानिसको पिसाब मिसाएर जाँच गर्दा लागू पर्दाथ सेवन गरे , नगरेको पत्ता लाग्छ। पिसाबलाई किटमा मिसाएपछि रातो धर्का देखिन्छ। एउटा मात्रै धर्का देखिँदा लागू पदार्थ सेवन गरेको पुष्टि हुन्छ। अर्थात् रिपोर्ट पोजेटिभ आयो भन्ने मान्नुपर्छ। २ वटा राता धर्का देखियो भने लागू पदार्थ सेवन गरेको छैन भन्ने यकिन हुन्छ। त्यो रिपोर्ट नेगेटिभ हुन्छ।










































