हल्दीवारी । 

स्वर्गीय जगत वबहादुरं तथा नरमाया वन स्मृति प्रतिष्ठानले लक्ष्मी माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक ओम मिश्रलाई सम्मान गरेको छ। प्रतिष्ठानले मंगलबार सिग्मा अंग्रेजी विद्यालयमा आयोजित कार्यक्रममा ४२ वर्षसम्म शिक्षण पेशामा योगदान पुर्‍याएका मिश्रलाई कदरपत्रसहित दोसल्ला ओडाएर सम्मान गरेको हो।

 प्रतिष्ठानका संरक्षक अधिवक्ता डम्बर वनको अध्यक्षतामा भएको कार्यक्रम तथा हल्दीवारी गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङदेनको प्रमुख आतिथ्य रहेको थियो ।  

सो अवसरमा प्रतिष्ठानले केही महिनाअघि आयोजना गरेको दोस्रो स्वर्गीय जगतबहादुर  तथा  नरमायाँ स्मृति फुटबल प्रतियोगितामा सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने हल्दीवारी गाउँपालिकाका महिला कर्मचारी, सिग्मा अंग्रेजी विद्यालयका विद्यार्थी, हल्दिवारी माध्यमिक विद्यालयका विद्यार्थी, सनसाइन्स अंग्रेजी विद्यालयका विद्यार्थी र कृष्ण सागर अंग्रेजी विद्यालयका विद्यार्थीहरूलाई पनि नगदसहित कदरपत्र प्रदान गरेर सम्मान गरेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि लिङदेन, अध्यक्ष अधिवक्ता वन, हल्दीबारी २ का वडाध्यक्ष सुकलाल राजवंशी, सिग्मा अंग्रेजी विद्यालयका प्रधानाध्यापक नरेश पराजुली, हल्दिवारी माध्यमिक विद्यालयका प्रधानाध्यापक टंकबहादुर पाख्रिन, सम्मानित व्यक्तित्व ॐ मिश्र लगायतले मन्तव्य राखेका थिए । 

हल्दीवारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा प्रतिष्ठानका संस्थापक मानबहादुर वन महेन्द्रले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै उपस्थित सबैलाई स्वागत गरेका थिए । कार्यक्रमको सहजीकरण हल्दीवारी गाउँपालिका योजना शाखा प्रमुख राजन न्यौपानेले गरेका थिए ।