काठमाण्डौ – निर्वाचन आयोगले फागुन २१ गतेको प्रतिनिधिसभा चुनावका लागि मतपत्र ढुवानी शुरू गरेको छ । आयोगका मुद्रण अधिकृत बाबुराम कोइरालाका अनुसार आज कर्णाली प्रदेशका सल्यान, रुकुम पश्चिम, डोल्पा, मुगु, हुम्ला, कालीकोट, जुम्ला, जाजरकोट, दैलेख र सुर्खेत गरी १० जिल्लाको मतपत्र ढुवानी कार्य सम्पन्न भएको छ ।

यस्तै आज बिहानसम्म प्रत्यक्षतर्फको निर्वाचन प्रणालीतर्फका ५८ जिल्लाका १ सय २४ वटा निर्वाचन क्षेत्रका लागि आवश्यक मतपत्र छपाइ सकिएको उहाँले बताउनुभयो । ५८ जिल्लाको १ करोड ५७ लाखभन्दा धेरै मतपत्र छापेर रुजु गरी प्याकिङ भइसकेको छ ।

प्रत्यक्षतर्फका लागि २ करोड ३ लाख २३ हजार मतपत्र छाप्नुपर्ने छ । समानुपातिकतर्फको मतपत्र भने यसअघि नै छापेर प्याकिङ भइसकेको छ । आयोगले आउँदो फागुन १२ गतेभित्र १ सय ६५ वटै निर्वाचन क्षेत्रमा मतपत्र पुर्‍याइसक्ने लक्ष्य लिएको छ ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीले दैनिक १५ लाख मतपत्र छापिरहेको आयोगका मुद्रण अधिकृत बाबुराम कोइरालाले जानकारी दिनुभयो ।