विर्तामोड । नेपाली कांग्रेस केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटीले पार्टी बदलेर देश बदल्ने अभियानमा रहेको नेपाली कांग्रेसलाई साथ दिन आम मतदातालाई आह्वान गर्नुभएको छ ।
नेपाली कांग्रेस झापा क्षेत्र नं–२ निर्वाचन परिचालन समितिको आयोजनामा विर्तामोडमा सम्पन्न विभिन्न संघसंस्थाका प्रतिनिधिहरुसँगको छलफललाई सम्बोधन गर्दै नेता शिवाकोटीले पार्टी बनाउन सबैको योगदान रहेको चर्चा गर्दै कांग्रेस एकढिक्का भएर निर्वाचनमा होमिएको बताउनुभयो ।
नेतृत्व र नीति परिवर्तन गर्न अन्य दलहरुले नसकेको धारणा राख्दै उहाँले नयाँ नेतृत्व, नयाँ विचार र नीतिसहित आएका कांग्रेसका युवाहरुलाई देशको नेतृत्व गर्ने अवसर दिन मतदातासँग आग्रह गर्नुभयो ।
नयाँ शक्ति भनिएकाहरुसँग राजनीतिक इतिहास, भावी योजना र स्पष्ट नीति नभएकोतर्फ मतदातालाई सचेत गराउँदै उहाँले सामाजिक सञ्जालको सदुपयोग गरेर राजनीतिक संकटका समयमा नेतृत्व लिएर कांग्रेसले गरेका कामको प्रचार गर्न सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह पनि गर्नुभयो ।
नेपाली कांग्रेसका तर्फबाट झापा क्षेत्र नं–२ का प्रत्यक्षतर्फका उम्मेद्वार सरिता प्रसाईले आफूले अहिलेसम्म प्राप्त गरेको जिम्मेवारी सफलतापूर्वक संहालेको इतिहास बताउँदै नीति निर्माण गर्ने थलो प्रतिनिधिसभामा पुग्ने अवसर सिर्जना गर्न सबैसँग आग्रह गर्नुभयो ।
नेपाली कांग्रेस झापा क्षेत्र नं–२ का सभापति खगेन्द्र मैनालीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं समानुपातिक उम्मेद्वार उमा शिवाकोटी, नेपाली कांग्रेस कोशी प्रदेश सदस्य रञ्जिता कार्की, झापा सचिव कृष्ण हुमागाई, ट्रेड युनियन कांग्रेस केन्द्रीय सदस्य उर्मिला ढकाल पोखरेल, क्षेत्र नं–२ प्रदेशसभा क का सभापति लक्ष्मीप्रसाद आचार्य, ख का सभापति किरण श्रेष्ठ, अर्जुनधारा नगर सभापति हेमराज खरेल, विर्तामोड नगर सभापति भोजराज सिटौला र विभिन्न सामाजिक संघसंस्था एवं जनप्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा सहजीकरण सचिव चन्द्र चुडालले गर्नुभएको थियो ।










































