झापा
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग अन्तर्गत खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले
झापाका होटल, रेस्टुराँलाई खाद्य स्वच्छताका आधारमा पहिलोपटक स्वच्छता स्तरीकरण लोगो र स्टिकर प्रदान गरेको छ।
खाद्य स्वच्छता र उपभोक्ता सुरक्षालाई केन्द्रमा राख्दै झापाका होटेल तथा रेस्टुरेन्टहरूको औपचारिक स्तरीकरण गरिएको जनाइएको छ।
विराटनगर कार्यलयको पहलमा झापाको बिर्तामोडमा रहेका १० वटा होटेल तथा रेस्टुरेन्टको स्वच्छता, व्यवस्थापन र सेवा स्तरको मूल्याङ्कन गरेको हो ।
फागुन ४ र ५ गते सोमबार र मङ्लबार दुई दिनसम्म सञ्चालन गरिएको कार्यक्रम खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुख पुष्पलाल राईको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र सङ्ग्रौलाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगर र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापा र होटल ब्यवसायी संघ झापाको समन्वयमा निरीक्षण तथा मूल्याङ्कन प्रक्रिया सम्पन्न गरिएको हो
खाद्य स्वच्छताको मापदण्ड कडाइका साथ पालना गर्ने होटेललाई ‘अति उत्तम’ श्रेणी प्रदान गरिएको छ।

झापाको बिर्तामोड भगवान चोकमा रहेको पाँचतारे होटेल द किङ्सबेरी प्रा।ली, बिर्तामोड–३ लाई अति उत्तम’ श्रेणी प्रदान गरिएको छ । उसलाई खाद्य स्वच्छतामा ३ स्टार मान्यता दिईएको छ ।
त्यस्तै होटेल ग्रान्ड सिटी प्रा।ली, बिर्तामोड–४ लाई पनि खाद्य स्वच्छतामा ३ स्टार मान्यता दिईएको छ । कार्यालयले १० होटलको निरीक्षण गरेको थियो ।
जसमा अति उत्तम २ वटा, सन्तोषजनक ४ वटा, सामान्य २ वटा भेटिएका थिए । त्यस्तै स्तरीकरण नभएका २ वटा होटललाई सुधारकालागि मौका दिईएको जनाइएको छ ।

कार्यालयले होटेल तथा रेस्टुरेन्ट व्यवसायलाई थप स्वच्छ, सुरक्षित र उपभोक्तामैत्री बनाउन यस्ता अभियानलाई आगामी दिनमा निरन्तरता दिने जनाएको छ।










































