दुई दिन अघि आएको पानी संगैको हावाहुरीका कारण झापाको झापा गाउंपालिकामा किसानले लगाएको केरा खेती नष्ट भएको छ । झापा गाउंपालिकामा बिगत सात बर्षदेखि व्यवसायीक केरा खेती गर्दै आएका चन्द्र बस्नेतको मात्रै पानीसँगै आएको हावाहुरीले ढालेर १६ लाख रुपैंया बढीको केरा खेतीमा क्षति गरेको छ ।  

पानीसँगै आएको हुरीले केराको बोट ढालेर १६ लाख बढीको केरा खेती नष्ट भएको उनले  जानकारी दिए । बस्नेतले  २ बिघा बढी क्षेत्रफलमा लगाएको ३ हजार २ सय बढी केराको बोट पुर्ण रुपमा नष्ट भएको छ । 

 भर्खर पसाएको र पाक्ने बेला भएको केरा सबैभन्दा बढी ढालेको किसान पुजा खनालले बताइन ।  केरा पकेट क्षेत्रको रुपमा रहेको झापा गाउंपालिकामा धेरै किसानको मुख्य आम्दानीको स्रोत केरा खेती रहेको छ ।  

उत्पादन भइरहेको र बजारीकरणकालागि तयार भएको केरा दुई दिन अघि  आएको हुरीले  क्षति गरेको किसान खनालको भनाई ।  बिमा कम्पनीले बालीको बिमा गर्न नमानेको किसान बस्नेतको गुनासो छ । 

उत्पादनको अन्तिम चरणमा रहेको केरा सबै हावाहुरीले ढालेपछि बस्नेत  निकै चिन्तित छन् । जग्गा भाडामा लिएर केरा खेती गर्दै आएका उनी हावाहुरीले सबै केरा सखाप पारेपछि पुनः बारीमासमेत जान सकेका छैनन्। उनले बिमाको माग गरेका छन् भने क्षतिको पनि सरकार समक्ष माग गरेका छन् ।