झापा , बिर्तामोडमा सञ्चालित एभरेष्ट फ्रेस एण्ड फेसन मार्ट दोस्रो वर्षमा प्रवेश गरेको अवसरमा विशेष कार्यक्रम आयोजना गरिएको छ । वार्षिकोत्सवको अवसरमा मार्टका सञ्चालक चान मोहमदले बिर्तामोड उद्योग वाणिज्य संघद्वारा स्थापित व्यवसायी सदस्य राहत कोषमा २१ हजार रुपैयाँ सहयोग प्रदान गरेका छन् ।
बिर्तामोड उद्योग वाणिज्य संघमा आयोजित कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेलाई रकम हस्तान्तरण गरिएको थियो । संघले स्थापना गरेको राहत कोषमा हालसम्म २५ लाख रुपैयाँभन्दा बढी रकम संकलन भइसकेको छ भने कोषलाई एक करोड रुपैयाँ पु¥याउने लक्ष्य राखिएको छ ।
सहयोग प्रदान गरेकोमा मार्टका सञ्चालक चान मोहमदलाई संघले कदरपत्र प्रदान गर्दै सम्मान गरेको थियो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमियाले बिर्तामोड उद्योग वाणिज्य संघअन्तर्गत स्थापना गरिएको राहत कोषले आम व्यवसायीलाई फाइदा पुग्ने विश्वास व्यक्त गरेका छन् । विशेषगरी साना तथा मझौला व्यवसायीका लागि यो कोष फलदायी हुने उनको भनाइ छ । उनले स्वतःस्फूर्त रुपमा रकम संकलन हुनु अत्यन्त सुखद् भएको उल्लेख गर्दै कठिन आर्थिक अवस्थामा पनि एभरेष्ट फ्रेस एण्ड फेसन मार्टले आफ्ना ग्राहकलाई सरल, सहज र गुणस्तरीय सामग्री सुपथ मूल्यमा उपलब्ध गराउँदै विभिन्न आकर्षक अफर ल्याएकोमा खुशी व्यक्त गरे । अन्य शाखा विस्तार गर्दै त्यहाँका ग्राहकलाई समेत सेवा दिइरहेको खबरले आफू उत्साहित भएको उनले बताए ।
डालमियाले बिर्तामोड उद्योग वाणिज्य संघले व्यवसायीको हित र व्यवसाय प्रवद्र्धनका लागि गरिरहेको काम प्रभावकारी रहेको उल्लेख गर्दै राहत कोष सञ्चालन गर्ने परिकल्पनाकार अध्यक्ष न्यौपाने र उनको टिमलाई धन्यवाद दिएका थिए ।
यसैबीच, मार्टको दोस्रो वार्षिकोत्सवको उद्घाटन बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष न्यौपानेले मार्ट परिसरमा राखिएको केक काटेर गरेका थिए ।
मार्टका सञ्चालक मोहमदका अनुसार वार्षिकोत्सवको अवसर पारेर चैत १ गतेदेखि १३ गतेसम्म ग्राहकलाई लक्षित गर्दै विशेष अफर सञ्चालन गरिएको छ । उक्त अवधिमा विभिन्न सामग्री खरिदमा विशेष छुटका साथै हरेक दिन एक जना ग्राहकलाई ५ हजार रुपैयाँ बराबरको सामग्री निःशुल्क प्रदान गरिने व्यवस्था गरिएको उनले जानकारी दिए ।









































