रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र सहकारी ठगीसम्बन्धी अभियोग संशोधन गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा आइतबारदेखि सुनुवाइ सुरु भएको छ। न्यायाधीशहरू शारंगा सुवेदी र सुनीलकुमार पोखरेलको इजलासमा सुनुवाइ सुरु भएको हो। 

आइतबार बहस नसकिएपछि मुद्दालाई हेर्दाहेर्दैमा राखिएको छ। जसअनुसार सोमबार पनि सुनुवाइ जारी हुने भएको छ।  गत साता सर्वोच्चले आइतबारदेखि पूर्ण सुनुवाइ सुरु गर्न आदेश दिएको थियो। 

अघिल्लो सरकारले लामिछानेविरुद्ध सहकारी ठगीका साथै सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा दायर गरेको थियो। संसदीय छानबिन समितिले समेत सहकारीबाट ग्यालेक्सी टेलिभिजन ९गोर्खा मिडिया० मा पैसा लैजान लामिछानेको संलग्नता नरहेको देखाएको अवस्थामा आफूमाथि राजनीतिक प्रतिशोधका आधारमा मुद्दा चलाइएको आरोप लामिछानेले लगाउँदै आएका छन्।

लामिछाने गोर्खा मिडियाको प्रबन्धक थिए। सहकारीको रकम गैरकानुनी रुपमा सो मिडियामा लगेर खर्च गरिएको विषयमा उनीमाथि समेत मुद्दा दायर भएको थियो।