विराटनगर । सुनसरीको इटहरीस्थित यातायात व्यवस्था कार्यालय, लाइसेन्स कोशीका कार्यालय प्रमुख सतिस सत्याल मन्त्रालय तानिएका छन् । आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशीको छड्के अनुगमनक्रममा स्वास्थ्य परीक्षणमा फेल भएकालाई पास गराएको पाइएपछि सत्याललाई कारबाही स्वरूप मन्त्रालय तानिएको हो । सत्यालले सवारी चालक अनुमति पत्र लिँदा या नवीकरण गर्दा गर्नु पर्ने अनिवार्य स्वास्थ्य परीक्षणमा सेवा ग्राहीसँग पैसा लिएको आरोप छ । सत्यालले स्वास्थ्य परीक्षणमा फेल भएका सेवाग्राहीसँग पैसा खाएर स्वास्थ्य परीक्षण पास गराउने गरेको गुनासो थियो ।
लिखित र मौखिक रूपमा गुनासो आएपछि मन्त्रालयका सचिव आस्मान तामाङको नेतृत्वमा यातायात व्यवस्था कार्यालय लाइसेन्स कोशीमा छड्को अनुगमन भएको थियो । अनुगमनक्रममा स्वास्थ्य परीक्षणमा फेल भएकाहरूलाई पास गराएको पाइएपछि सत्याललाई मन्त्रालयमा तानिएको आन्तरिक मामिला तथा कानून मन्त्री इन्द्रमणी पराजुलीले बताए । उनले भने, ‘लिखित र मौखिक गुनासो आएपछि अनुगमन भएको थियो । अनुगमनका क्रममा फेल भएकालाई पास गराएको पाइएपछि मन्त्रालय तानिएको छ ।’
मन्त्री पराजुलीले यस बारेमा थप अध्ययन भइरहेको बताए । अनुगमनमा गएको टोलीले कार्यालय प्रमुख सत्यालको कार्यकक्षको दराजमा सिल गरेको छ । मन्त्री पराजुलीले भने, ‘पटकपटक मौखिक रूपमा सचेत गराएका थियौँ । सचेत गराउँदा पनि नसुध्रिएपछि छड्के अनुगमन भएको हो ।’
यातायात व्यवस्था कार्यालयमा स्वास्थ्य जाँचका विषयमा सेवा ग्राहीसँग आर्थिक लाभ लिने गरेको गुनासो आएपछि गएको साउनबाट मन्त्रालय आफैँले स्वास्थ्य परीक्षण गर्न डाक्टर नियुक्त गर्ने व्यवस्था भएको थियो ।
अस्थायी दरबन्दी सृजना गरेर तराइका तीन जिल्लामा रहेका यातायात व्यवस्था कार्यालयमा डाक्टरको नियुक्त भएको थियो । मन्त्रालयका अनुसार झापाको बिर्तामोडस्थित यातायात व्यवस्था कार्यालयमा २ जना, इटहरीमा २ जना र विराटनगरमा १ जना विशेषज्ञ डाक्टर नियुक्त भएको छ । नियुक्त भएका डाक्टरहरूले सवारी चालक अनुमति पत्र लिँदा र नवीकरण गर्दा स्वास्थ्यको रिपोर्ट दिने गरेका छन् ।
सत्यालले भने यातायात व्यवस्था कार्यालयमा क्रोनिक समस्याका रूपमा रहेको स्वास्थ्य परीक्षण सुधारमा लागेको बताउँदै आफूमाथि आरोप मात्र लगाइएको बताए । उनले सेवाग्राहीलाई असहज नहोस् भनेर आफूले रिचेक लेखिदिने गरेको र सोही आधारमा आफूलाई आरोप लगाइएको बताए । उनले भने, ‘स्वास्थ्य परीक्षण गर्न आएकाहरू फेल भएपछि म कहाँ आउने गरेका थिए । फेल भएकाहरूलाई र चेक गरिदिनु भनेको आधारमा आरोप लगाइएको हो । मैले एक रुपैयाँ खाएको छैन, छानबिनबाट सत्यतथ्य आउँछ ।’









































