विराटनगर। प्रहरीले सुनसरीका विभिन्न सरकारी कार्यालयहरूबाट एक दर्जन बढी बिचौलियालाई पक्राउ गरेको छ। सार्वजनिक सेवा प्रवाहमा सर्वसाधारणलाई हैरानी दिएको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले मालपोत, यातायत, नापी लगायतका कार्यालयमा एकै सात छापा छड्के अप्रेशन चलाएको थियो । सो क्रममा उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार, यातायात, मालपोत तथा जिल्ला प्रशासन कार्यालय आसपासमा रहेर बिचौलियाको भूमिकामा रहेका उनीहरूलाई नियन्त्रणमा लिएको हो।

सार्वजनिक सेवा प्रवाहमा सर्वसाधारणलाई हैरानी दिएको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय इटहरीले ५ जनालाई यातायात कार्यालयबाट पक्राउ गरेको छ।

नागरिकलाई रकम माग्ने तथा सेवा प्रवाहमा अवरोध गर्ने ५ जनालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी सुवास हमालले जानकारी दिए । उनीहरूलाई अहिले इलाका प्रहरी कार्यालय इटहरीमा राखेर अनुसन्धान गरिहरेको छ ।

त्यस्तै सर्वसाधारणको धेरै भिडभाड हुने मालपोत, नापी तथा जिल्ला प्रशासन कार्यालयहरूबाट समेत आधा दर्जन बढी बिचौलिया पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी चन्द्र खड्काले जानकारी दिए।