जन्मदिनको अवसर पारेर समाजसेवी एवंम बिर्तामाेडका युवा व्यवसायी निर्मल भट्टराईले मेचीनगक ५ कि एक क्यान्सर पीडितलाई आर्थिक तथा खाद्यान्न सहयोग गरेका छन् ।

नेपाल उद्योग बाणिज्य महासंघकाे काेशी प्रदेश सदस्य तथा बिर्तामाेड उद्योग बाणिज्य संघकाे विशिष्ट सदस्य समेत रहेका भट्टराईले श्रीमती सुमित्रा सहित आज आईतबार पर्न गएकाे आफ्नाे जन्मदिनकाे अवसर पारेर क्यान्सरले खुट्टा गुमाएकी सत्ताइस वर्षकी विष्णुमाया राईलाई उनकै घरमै पुगेर सहयाेग गरेका हुन् ।

मानवतामूलक सेवाभावलाई आत्मसात गर्दै जन्मदिनको अवसरमा पीडित परिवारलाई नगद २५ हजार रूपैंया सहयोगसँगै चामल, दाल, खाने तेललगायत खाद्यान्न सामग्री भट्टराई दम्पतीले हस्तान्तरण गरेका हुन् ।

नेपाल अलैंची व्यवसायी महासंघकाे निवर्तमान अध्यक्ष समेत रहेका समाजसेवी तथा युवा व्यवसायी भट्टराईले जन्मदिनलाई औपचारिक उत्सवभन्दा फरक ढंगले मनाउँदै पीडितको दुःखमा साथ दिन सहयोग गरिएको बताएका छन् ।
भट्टराईले लामाे समयदेखि आफ्नाे तथा परिवारका सदस्यकाे जन्मदिन तथा विशेष अवसरमा यसरी नै सामाजिक कार्य गरेर जन्मदिन मनाउँदै आएका छन् ।
टाेकला चिया बगानमा दैनिक मजदुरी गर्ने विष्णुमायालाई क्यान्सर संक्रमण पुष्टि भएपछि उनकाे दाहिने खुट्टा केही समय अघि काटिएकाे छ । अस्पतालले विष्णुमायाको क्यान्सर शरीरभरि फैलिन नदिन तुरुन्तै ‘किमोथेरापी’ सुरु गर्नुपर्ने जनाएको छ ।
तर आर्थिक अभाबका कारण उनी अहिले घरमै थलिएर बस्न बिबश छिन् । उनकाे यस्ताे अवस्था अग्रज पत्रकार माेहनकाजी मार्फत थाहा पाएपछि थाेरै भए पनि सहयाेग गरिएकाे भट्टराईले बताएका छन् । उनले अन्यलाई पनि सहयाेग गर्न आग्रह गरेका छन् ।
विष्णुमायाको परिवारमा पति अनिस, सासुआमा पवित्रा राई र पाँच वर्षको छोरा सुगम राई छन् । नजिकैको टोकला चिया बगानमा मजदूरी गरेर जीविका धानिरहेको उक्त परिवार एक वर्षयता ठुलाे समस्याबाट गुज्रिएकाे छ ।
अनीसकाे ४८ वर्षीया आमा पवित्रा राई समेत प्यारालाइसिसले थलिएकी छन् ।
सरकारी ऐलानी १३ धुर जग्गामा सानाे फुस्काे घरमा अनिसकाे परिवार बसिरहेकाे छ ।
विष्णुमायाको उपचारमा साथीभाइ, छिमेकी र दाताहरूबाट संकलित दुई लाख ५० हजार खर्च भएको पति अनिसले बताए ।
अहिले बिष्णुमायाकाे दयनिय अवस्था देखेर अग्रज पत्रकार माेहनकाजी न्याैपाने र मेची उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विजय डालमियाले विभिन्न संघ संस्था तथा सराेकारवालासंग समन्वय गरिरहेका छन् ।










































