काठमाडौं । गार्मेन्टका सामान रहेको भन्दै कुरियरमार्फत विदेश पठाउन लागिएको सुन तथा चाँदीका गरगहना तस्करको प्रयास भएको छ । गार्मेन्टको सामान भन्दै कुरियरमार्फत विदेश पठाउन लागिएको सामान चेकजाँच गर्ने क्रममा ठूलो परिमाणमा सुनचाँदी बरामद भएको थियो ।

बरामद भएको सुनचाँदी परीक्षणबाट ती गरगहना सक्कली सुन र चाँदीकै रहेको पुष्टि भएको छ।

असार १६ गते जुत्ता, पाइन्ट, सारी तथा अन्य कपडाहरू रहेको भन्दै पठाउन लागिएको पार्सलबाट सुन तथा चाँदीका गरगहना बरामद गरिएको थियो। उक्त गरगहनाको असार १८ गते काठमाडौं सुनचाँदी व्यवसायी संघ, क्षेत्रपाटीमा परीक्षण गरिएको थियो। परीक्षणका क्रममा सुनजस्तो देखिने धातुका गरगहना सक्कली सुन र चाँदीजस्तो देखिने धातुका गरगहना सक्कली चाँदी भएको पुष्टि भएको हो।

परीक्षणअनुसार बरामद सुनको कुल तौल २८५।१७८ ग्राम रहेको छ, जसको मूल्य ६७ लाख ३४ हजार ३५० रुपैयाँ रहेको छ। त्यसैगरी चाँदीको कुल तौल ३ केजी ९१४।६५० ग्राम रहेको छ, जसको मूल्य १४ लाख ३८ हजार ४३ रुपैयाँ निर्धारण गरिएको छ। बरामद सुन तथा चाँदीको कुल मूल्य ८१ लाख ७२ हजार ३९३ रुपैयाँ रहेको जनाइएको छ।

वैध रूपमा खरिद गरिएको सुन तथा चाँदी घोषणा ९डिक्लेयर० गरेर लैजान सकिने व्यवस्था हुँदाहुँदै गार्मेन्टका सामानका रूपमा लुकाइछिपाइ कुरियरमार्फत पठाउन खोजिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। घटनाका सम्बन्धमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचरले थप अनुसन्धान गरिरहेको जनाएको छ। nepalpress.com