झापाकाे बिर्तामोडमा तेस्रो संस्करणको ‘मिस्टर कञ्चनजंघा खुला पुरुष तथा महिला राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता’  हुने भएको छ। आगामी असोज २० र २१ गते बिर्तामोडमा प्रतियोगिता गर्न लागिएकाे  आयोजकले पत्रकार भेटघाट मार्फत   जानकारी दिएकाे हाे । 

बडी ग्यारेजको आयोजनामा यसअघि पहिलो र दोस्रो संस्करण प्रदेशस्तरीय रूपमा आयोजना गरिएकाे थियाे ।  यसपटक प्रतियोगितालाई निरन्तरता दिँदै  राष्ट्रियस्तरमा विस्तार गरिएको आयाेजक समितिका अध्यक्ष पदम श्रेष्ठले जानकारी दिए ।   

प्रतियोगिताको पहिलो दिन प्रिजजिङ र दोस्रो दिन फाइनल प्रतिस्पर्धा हुने आयाेजकले जनाएकाे छ।प्रतियोगितामा पुरुषतर्फ ५५, ६०, ६५, ७० र ७५ केजी तथा ७५ केजीभन्दा माथिका तौल समूहमा प्रतिस्पर्धा गराइने प्रतियाेगिताकाे संयाेजक राम दाहालले बताए । 

महिलातर्फ भने खुला प्रतिस्पर्धा हुने जनाइएको छ।प्रतियोगिताको समग्र विजेताले नगद ५ लाख रुपैयाँ प्राप्त गर्नेछ। अघिल्लो संस्करणमा समग्र विजेताले ३ लाख ११ हजार १११ रुपैयाँ पुरस्कार पाएका थिए।

यसपटक दोस्रो हुनेले ३ लाख, तेस्रोले २ लाख, चौथोले १ लाख, पाँचौँले ७५ हजार र छैटौँ हुने खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्ने बडी ग्यारेजका उपाध्यक्ष अभिषेक गहतराजले जानकारी दिए । 

त्यस्तै, कोशी प्रदेशमा पहिलोपटक आयोजना हुन लागेको महिला प्रतिस्पर्धामा प्रथम हुने खेलाडीले ७५ हजार, दोस्रोले ५० हजार र तेस्रोले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ।

हरेक तौल समूहमा दोस्रो हुने खेलाडीलाई ७ हजार र तेस्रो हुनेलाई ५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ। बाँकी तीन खेलाडीलाई ट्रफी तथा मेडल प्रदान गरिनेछ।

प्रतियोगितामा देशका विभिन्न स्थानबाट खेलाडीको सहभागिता रहनेछ। 

आयोजकले विदेशबाट दुई जना खेलाडीसमेत सहभागी गराउने अपेक्षा गरेको छ।

प्रतियोगिता सम्पन्न गर्न करिब ३५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।यसअघि तेस्रो संस्करणको प्रतियोगिता २०८२ साल भदौ २७ र २८ गते आयोजना गर्ने तयारी गरिएको थियो। 

तर जेनजी आन्दोलनका कारण स्थगित भएको आयोजकले जनाएको छ।प्रतियोगिताको दोस्रो संस्करणको ‘मिस्टर कञ्चनजंघा’ उपाधि दिलीपकुमार चौधरीले जितेका थिए। 

उनी डिएनपी फिटनेस गाइडबाट ६५ केजी तौल समूहमा सहभागी भएका थिए।शारीरिक सुगठन खेलको विकाससँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष  श्रेष्ठले जानकारी दिए । 

पत्रकार सम्मेलनमा प्रतियोगिताका प्रमुख सल्लाहकार सुवास भट्टराई, संयोजक  दाहाल, उपाध्यक्ष गहतराजले  प्रतियोगितालाई सफल बनाउन सबै क्षेत्रको साथ सहयोग आवश्यक रहेको धारणा व्यक्त गरे । 

प्रतियोगिताका अध्यक्ष  श्रेष्ठको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा उपाध्यक्ष अभिषेक गहतराज, सचिव हिमाल खरेल, कोषाध्यक्ष शारदा दाहाल लगायतको सहभागिता रहेको थियो ।