झापाका कुमाल समुदायले आफ्नो पुख्र्यौली पेशा (माटोको भाँडा बनाउने) सङ्कटमा पर्दै गएको भन्दै चिन्ता ब्यक्त गरेका छन् । पछिल्लो समय हाटबजारमा प्लाष्टिकबाट निर्मित आधुनिक प्रविधिका भाँडाहरु सहज रुपमा पाउन थालेसँगै कुमाल समुदायको पुख्र्यौली पेशा सङ्कटमा परेको उनीहरुले जनाएका हुन् ।
झापाको बाह्रदशी ६ स्थित कुमाल गाउंमा मात्र बर्षौंदेखि ५० बढी घर परिवार माटोको भाँडा बनाउने पेसामा आबद्ध छन् ।
परम्परादेखि अपनाउँदै आएको माटोका भाँडा बनाउने पेसा आवश्यक कच्चा पदार्थ अभावका कारण सङ्कटमा परेको कुमाल गाउँका शारिरिक रुपले अशक्त समेत रहेका टेकनारायण पण्डित बताउँछन् । भाँडा निर्माण गर्न आवश्यक माटो, दाउरा, पराल, लगायत कच्चा पदार्थको अभावका कारण माग अनुरुप भाँडाकुँडा बनाउन नसकिएको उनले बताए ।
भाँडा बनाउनका लागि बिगतमा बाह्रदशी ६ बाट माटो लिने गरेपनि सो स्थानबाट अहिले माटो पाउन छाडेको छ । उनले बनियानीबाट महंगो मुल्य हालेर माटो खरिद गर्नु पर्ने बाध्यता रहेको सुनाए । उनी सहित सो गाउंका केहि कुमालेलाई बाह्रदशी ६ ले बिजुलीबाट चल्ने मोटर जडित च्रक दिएको छ जसले उनीहरुलाई सहज भएको छ ।
घैला, दियो, कप, पाला, घोडा, कराइ, गमला, ठेकी, करुवा, हाडी बनाउने गरेका छन् ।
आधुनिकता तथा सहजताका लागि प्लास्टिकका सामग्री प्रयोग गर्ने बढेसँगै माटोको भाँडा प्रयोग गर्नेक्रम घट्दो छ । बजारमा सहजरूपमा पाइने प्लास्टिकका भाँडाका कारण माटोका भाँडा लोप हुने अवस्थामा पुगेको तथा कच्चा पदार्थ अभावका कारण समस्या रहेको कुमाल बताउंछन् ।
जमिनको करिब १५–२० फिट तलबाट खाल्डो खनेर निकालिएको चिम्ट्याइलो माटोबाट माटाका भाँडा बनाउने गरिन्छ ।
पहिले सहजै तथा थोरै शुल्कमा माटो किन्न पाए पनि अहिले जग्गा प्लटिङ हुनथालेपछि महँगोमा माटो किन्नुपर्ने अवस्था रहेको उनीहरुको भनाइ छ ।
एकातिर बजारमा प्लास्टिकका भाँडा आउनु र अर्कोतर्फ पर्याप्त मात्रामा माटो नपाइने हुँदा सीप र परिश्रमअनुसार ज्याला नउठ्ने भएपछि कुमाल जातिको पेशासँगै सीप र कला पनि लोप हुँदै गएको भन्दै उनीहरुले पुख्र्यौली पेशालाई संरक्षण गर्न राज्यले आफूहरूको समस्या सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन् ।









































