झापा ।

प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा कार्यरत सम्पूर्ण कर्मचारीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ४० हजार रुपैयाँ सहयोग गरेका छन्।

सहकारीमा कार्यरत कर्मचारीहरूको तर्फबाट संकलित उक्त रकम विपद्का कारण प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि कोषमा जम्मा गरिएको हो।

प्राकृतिक विपद्ले भौतिक क्षतिसँगै प्रभावित परिवारको आशा, आधार र भविष्यमा समेत असर पार्ने भएकाले कठिन परिस्थितिमा पीडितको दुःखमा साथ दिनु सबैको साझा जिम्मेवारी भएको सिम्रिक साकोस परिवारले जनाएको छ।

सहयोग रकम ठूलो वा सानोभन्दा पनि विपद्मा परेका नागरिकप्रतिको ऐक्यबद्धता, सहानुभूति र मानवीय जिम्मेवारीको प्रतीक भएको साकोसले जनाएको छ।

सिम्रिक साकोस परिवारले विपद्को समयमा पीडितको साथमा उभिन, राहत तथा पुनःस्थापनाका कार्यमा हातेमालो गर्न र मानवीय सहयोगमा एकजुट हुन सबैलाई आग्रह गरेको छ।