बिर्तामोड, भदौ ११ । रसुवाको भोटेकोशीमा आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकका लागि झापाका तीनवटा पालिकाले आर्थिक सहयोग प्रदान गर्ने भएका छन् । उनीहरुले प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका हुन् ।

अर्जुनधारा नगरपालिकाले बाढीपीडितको राहत तथा उद्धारका लागि २१ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । नगरप्रमुख बलदेवसिंह गोम्देनको आह्वानमा बिहीबार नगरपालिकामा आयोजित सर्वपक्षीय बैठकले उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो ।

बैठकमा स्थानीय उद्योगी, व्यापारी, सामुदायिक वन, खानेपानी उपभोक्ता समिति तथा संस्थागत विद्यालयका प्रतिनिधिसहितको सहभागिता थियो । छलफलपछि सहभागी उद्योगी, व्यवसायी तथा संघ–संस्थाका प्रतिनिधिले संस्थागत निर्णयअनुसार सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

त्यस्तै, नेपाल सरकारको निर्णयअनुसार नगरपालिकाका जनप्रतिनिधि तथा राष्ट्रसेवक कर्मचारीको पारिश्रमिक र नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट समेत रकम उपलब्ध गराई नेपाल सरकारको ‘एकद्वार’ नीतिअनुसार प्रधानमन्त्री प्रकोप राहत कोषमा २१ लाख रुपैयाँ जम्मा गर्ने प्रतिबद्धता व्यक्त गरिएको नगरपालिकाले जनाएको छ ।

त्यस्तै, भद्रपुर नगरपालिकाले ११ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । नगरपालिकाले जारी गरेको प्रेस विज्ञप्तिअनुसार बाढीबाट भएको ठुलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्मा परेका नागरिकको सहयोगका लागि रकम उपलब्ध गराउने निर्णय गरिएको हो ।

नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूबाट रकम संकलन गरी प्रधानमन्त्री राहत कोषमा ११ लाख रुपैयाँ जम्मा गरिने नगरप्रमुख गणेश पोखरेलले बताए ।

त्यस्तै, बिर्तामोड नगरपालिकाले ५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । नगरप्रमुख पवित्रा महतारा प्रसाईंको अध्यक्षतामा आज बसेको नगर कार्यपालिकाको बैठकले बाढी प्रभावित परिवारको राहत तथा उद्धारका लागि कोषमा ५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।