काठमाडौं — रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकका लागि नेपाल भेनियर उत्पादक संघले आर्थिक सहयोग प्रदान गरेको छ।
संघले बाढी तथा पहिरो प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले प्रधानमन्त्री राहत कोषमा रु १ लाख ११ हजार आर्थिक सहयोग गरेको हो।
प्राकृतिक विपत्तिबाट प्रभावित परिवारलाई राहत उपलब्ध गराउन तथा विपद्को समयमा सामाजिक उत्तरदायित्व निर्वाह गर्न सहयोग गरिएको संघका अध्यक्ष श्याम न्यौपानेले जानकारी दिए । संघले आगामी दिनमा पनि आवश्यकताअनुसार सामाजिक तथा मानवीय कार्यमा सहयोग गर्दै जाने प्रतिबद्धता जनाएको छ।
साथै रसुवा लगायत विभिन्न जिल्लामा आएको बाढी तथा नदी कटानबाट भएको जनधनको क्षतिप्रति संघले दुःख व्यक्त गर्दै प्रभावित नागरिकको तत्काल उद्धार, उपचार तथा राहतका लागि सम्बन्धित निकायलाई आग्रह गरेको छ।

संघले जारी गरेको अपिलमा रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत प्रभावित क्षेत्रमा भएको क्षतिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। प्रभावित नागरिकप्रति हार्दिक समवेदना व्यक्त गर्दै संघले घाइते तथा प्रभावितको तत्काल उद्धार, उपचार, राहत र सुरक्षित पुनर्स्थापनाका लागि सरकार, स्थानीय तह, सुरक्षा निकाय तथा सरोकारवालालाई प्रभावकारी परिचालन हुन अनुरोध गरेको छ।
नदी किनार, खोला तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन, प्रशासन तथा सुरक्षा निकायको निर्देशन पालना गर्न र जोखिम देखिएमा सुरक्षित स्थानमा स्थानान्तरण हुन पनि संघले अपिल गरेको छ।
संघले आफ्ना आबद्ध सम्पूर्ण उद्योगी, व्यवसायी, उद्यमी तथा कर्मचारीलाई प्रभावित परिवारको राहत तथा पुनर्स्थापनामा मानवीय सहयोग, समन्वय र सहकार्य गर्न आह्वान गरेको छ। भेनियर तथा काठजन्य उद्योग क्षेत्रको व्यावसायिक भूमिकासँगै मानवीय उत्तरदायित्व निर्वाह गर्न संघ प्रतिबद्ध रहेको जनाएको छ।
संघका अध्यक्ष श्यामप्रसाद न्यौपानेद्वारा जारी अपिलमा विपद्को यस घडीमा सबै एकजुट भई सतर्क, सुरक्षित र सहयोगी बन्न आग्रह गरिएको छ।










































