भद्रपुर, : झापाको सदरमुकाम रहेको भद्रपुरमा दुले चोरको बिगबिगी बढेको छ । भद्रपुरमा दिनहुँजसो चोरीका घटना भइरहेका छन् । यसैक्रममा हिजो बिहीबार विहान २ देखि ३ः३० को बीचमा भद्रपुर–४ लक्ष्मीनगर टोलमा तीन घरमा चोरी भएको छ ।
विवरण अनुसार स्थानीय रोहित काफ्लेको सामसुङ ए–२६ मोवाइल, काफ्लेको घरसँगै टाँसिएको घरमा गीता कार्कीको रेडमी मोवाइल र करिब १८ हजार रुपैयाँ नगद र केही दक्षिण–पश्चिम थापाको घरमा रेडमी मोवाइल र करिब ९ हजार रुपैयाँ नगद चोरी भएको हो ।
ती सामग्री मान्छे सुतिरहेको खाटको सिरानबाटै चोरी भएको बुझिएको छ । चोरीका सम्बन्धमा महेशपुर प्रहरी चौकीमार्फत वडा प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराइएको पीडित रोहित काफ्लेले जानकारी दिए ।
केही दिनअघि भद्रपुर ४ कै विमल घिमिरेको र भद्रपुर ६ मा एकजना खतिवडा थरका व्यक्तिको मोवाइल चोरी भएको थियो । यसरी दिनहुँजसो मोवाइललगायतका सामान र नगदसमेत चोरी हुन थालेपछि लक्ष्मीनगर टोलका वासिन्दा त्रसित बनेका छन् । स्थानीयले रात्रिकालीन प्रहरी गस्ती बढाउन प्रहरी–प्रशासनसँग आग्रह गरेका छन् ।










































